२२ वैशाख २०८१, शनिवार

ज्येष्ठ सांसद्लाई पनि मन्त्री बनाएपछि मुख्यमन्त्री थापा ढुक्क

१ भदौ २०८०, शुक्रवार
Image

विराटनगर, १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने हुनुभएको छ ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते  दिनको १ बजे  प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिनुभएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

तिरानब्बे सदस्यीय कोशी प्रदेश सभामा नेपाली कांग्रेससहितको गठबन्धनसँग मुस्किलले बहुमत अर्थात् ४७ मत छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको गठबन्धनमा बलियो चुनौतिसहितको ४६ मत छ ।

मुख्यमन्त्री थापाले बहुमत नपुग्ला कि भन्ने त्रासका कारण सभामुख रहेका माओबादीका बाबुराम गौतम र ज्येष्ठ सांसद् कांग्रेसका गयानन्द मण्डललाई पहिल्यै मन्त्री नियुक्त गरिसक्नु भएको छ ।

विपक्षी एमालेले उपसभामुख पदबाट सिर्जना दनुवारलाई राजीनामा गराए ज्येष्ठ सांसद्को नाताले कांग्रेसका मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने बाध्यता हुन्थ्यो । तर, भावी संकटमोचनका लागि मुख्यमन्त्री थापाले अग्रिम सचेतना अपनाइसक्नु भएको छ ।

अहिलेको समीकरण र परिस्थितिमा कुनै बदलाव नआएमा भदौ ४ गते सभामा थापाले ४७ मत पाउनु हुनेछ । 

नेकपा एमाले संसदीय दलका नेता एवम् निवत्र्तमान मुख्यमन्त्री हिक्मत कार्कीले उपसभामुख सिर्जना दनुवारलाई पदबाट राजीनामा नगराउने पटकपटक बताउँदै आउनु भएको छ ।