१५ पुष २०८१, सोमवार

डाक्टर लिएर मजदूरको गाउँ पुग्यो माओबादी

९ भदौ २०८०, शनिवार
Image

मेचीनगर, ९ भदौ । जनतासँग जोडिने बाचा गरेको नेकपा माओबादी केन्द्रले चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशीको स्वास्थ्य जाँच गरेर शिविर सुरु गरिएको थियो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कार्की रहेका थिए । उनले माओवादी जनताको दुःखसुखमा साथ दिने पार्टी भएको दावी गरे । 

माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले गरिबदुःखीको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति इञ्चार्ज गोम्बु शेर्पा, माओवादी केन्द्र जिल्ला समन्वय समिति झापा संयोजक राजु आचार्य अग्नि, अखिल नेपाल चिया मजदुर संगठन केन्द्रीय अध्यक्ष सीता सापकोटा, अरनिको मावि व्यवस्थापन समिति अध्यक्ष निर्मलकुमार अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा डा. सफीउर रहमान, डा. कविता यादव, डा. फैयाज अन्सारी, डा. सोनालीसिंह गौतम, डा. मुरलीप्रसाद साह, हेम नारायण मेहता, कल्पना चापागाईं, अरविन्द यादव, जावेद अन्सारी, सकिना खातुन, सृजना माझी, अणु चौधरी, इमरान अन्सारी, शाहिद अन्सारी लगायतको विशेषज्ञ टोली स्वास्थ्य जाँचमा खटिएको थियो ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसुति रोग, दन्त चिकित्सा, भिडियो एक्स रे, ल्याव तथा इसीजी, हाडजोर्नी तथा नशा रोग, नव शिशु तथा बाल रोग, क्यान्सर रोग स्क्रिनिङ, नाक, कान, घाँटी रोग, आँखा रोग, छाला तथा यौन रोग, छाती तथा पेट सम्बन्धी रोगको जाँच भएको थियो ।

शिविरमा विशेषज्ञ डाक्टरहरुले जाँच गर्दै औषधि समेत वितरण गरिएको थियो । स्थानीयले गाउँमै डाक्टर बोलाएर सेवा दिएकोमा खुशी व्यक्त गरेका छन् । सेवा लिन अरनिको माविमा सयौँ उपस्थित भएका थिए ।

लेखकको बारेमा
Image
झुलन रेग्मी

झापाका युवा पत्रकार झुलन रेग्मी मेची खबर साप्ताहिकका सम्पादक हुनुहुन्छ ।