१६ वैशाख २०८१, आइतवार

एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

११ भदौ २०८०, सोमवार
Image

झापा, ११ भदौ । झापाकी एक महिलाको उपचारको क्रममा पित्त थैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ ।

दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा त्यतिधेरै पत्थरी एकैपटकमा शरीरभित्रबाट बाहिर निकालिएको हो ।

हस्पिटलका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा. शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गर्नु भएको थियो ।

“सहन नसक्ने गरी पेटभित्र दुखाई भएको भन्दै उहाँलाई हाम्रो हस्पिटलमा भर्ना गरिएको थियो,” निर्देशक पोखरेलले उपचार बारे जानकारी दिदै भन्नुभयो–“मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहनु भएको सर्जन डा. सशी सिंहले उहाँको स्वास्थ्य परीक्षणपश्चात तुरुन्त शल्यक्रिया जरुरी भएको बताउनुभयो । सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको हो ।”

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । हाल साहलाई हस्पिटलको सर्जिकल वार्डमा राखेर शल्यक्रियापछिको उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको छोरा दिपक कुमार साहले बताउनुभयो ।

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सकहरु बताउँछन् । “एउटै स्टोन हुँदा दुखेर बिरामी फत्र्याक फत्र्याक हुन्छन्,” साहलाई हस्पिटलको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले भन्नुभयो–“यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नु भएको थियो होला भनेर म चकित भएको छु ।”

हस्पिटलका व्यवस्थापक मनोज दाहालले उहाँको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिनुभयो । पछिल्लो समय पित्तथैली, मूत्रनली र मिर्गौलामा पत्थरी देखा पर्ने रोगबाट बिरामीहरु बढेको बताउँछन् ।