६ साउन २०८१, आइतवार

विश्लेषकहरु भन्छन्–‘कट्टेलको ‘२०२८’ले झापा विद्रोह बुझ्न सजिलो’

१६ भदौ २०८०, शनिवार
Image

मेचीनगर, १६ भदौ । युवा लेखक निरोज कट्टेलद्वारा हालै प्रकाशित ‘२०२८, झापाको अन्तरकथा’ नामक पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विद्रोहको अन्तर्यलाई बुझ्न सहज बनाइदिएको विश्लेषकहरुले बताउनु भएको छ ।

पुस्तकका बारेमा आज रिडर्स झापाद्वारा काँकरभिट्टामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिवक्ता एवम् बाम राजनीतिज्ञ लीला उदासीले पुस्तकमा झापा विद्रोहका तथ्यहरुलाई मसिनो गरी समेटिएको बताउनुभयो ।

‘झापा विद्रोह सही थियो कि गलत भन्ने कुरा आआफ्नो बुझाई र आस्थाको कुरा हो,’ उहाँले भन्नुभयो–‘नेपाली राजनीतिलाई नयाँ मोड दिएको यो आन्दोलनको उठान भएका बेलाको बस्तुगत परिस्थिति, घटना, पात्र, चरित्र, नीति र परिणामका बारेमा किताबमा लेखकले गहन खोज गर्नुभएको पाएँ ।’

उदासी आफु पनि झापा विद्रोहको अभियन्ता भए तापनि वर्गशत्रु खत्तमको हिंसात्मक आन्दोलनको स्वरुपसँग कहिल्यै सहमत नभएको र विद्रोहको थालनीका बेला झापाली थुप्रै नेताहरु व्यक्ति हत्याको राजनीतिमा असंलग्न रहेको उहाँले कार्यक्रममा सविस्तार बताउनुभयो ।

अर्का वक्ता एवम् लेखक भवानी क्षेत्रीले आफुले झापा विद्रोहका बारेमा केही पनि लेख्न नसकेकोमा आफैमाथि प्रश्न गरिरहेको बताउनुभयो । कट्टेलको किताबमा इतिहासको एउटा कालखण्डको उजागर गरिएको बताउनुभयो । उहाँले विद्रोहमा महिला पात्रहरुको भूमिका र उनीहरुको योगदानका बारेमा कहिँ कतै चर्चा नभएको गुनासो समेत गर्नुभयो ।

यसैगरी, किताबका लेखक निरोज कट्टेलले झापा विद्रोह सही थियो कि गलत भन्ने आफुले नखोजेको र घटना चाहिँ के भएको थियो भन्ने बारेमा अन्वेषण गरेको बताउनु भएको छ ।

किताबमा कसैप्रति कुनै किसिमको आग्रह र पूर्वाग्रह नराखिएको उल्लेख गर्दै उहाँले किताब लेख्दा राजनीतिक घटनाभन्दा सामाजिक अवस्था र कारणहरुको खोजी गर्न आफुलाई कठिन भएको सुनाउनुभयो । 

वि.सं. २०२१ सालमा पञ्चायती सरकारले भूराजनीतिक दवावका कारण भूमिसुधार कानून लागू गरेको र नेपालमा बढ्दो चिनियाँ क्रान्तिको प्रभाव रोक्न त्यसो गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रमको सहजिकरण रिडर्स झापाका सदस्य सागर शिवाकोटीले गर्नु भएको थियो । सो अवसरमा रामचन्द्र उप्रेती, दुर्गाप्रसाद सापकोटा, कविन्द्र श्रेष्ठ, दामोदर ढुंगेल, लक्ष्मीप्रसाद उप्रेती, मोहन काजी, नवराज सुबेदी, पूजा सापकोटा, केदार ढकाल लगायतले वक्ताहरुलाई किताब र राजनीतिका विषयमा विभिन्न प्रश्न सोध्नु भएको थियो ।