२७ वैशाख २०८१, बिहिवार

उद्धार गरिएको शिशुको भेटिएनन् अभिभावक

१७ भदौ २०८०, आइतवार
Image

झापा, १७ भदौ । भद्रपुर नगरपालिकाले सडक छेउमा वेवारिसे अवस्थामा उद्धार गरिएको एक महिनाभन्दा कम उमेरको स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ ।

नगरपालिकाकी उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताउनुभयो ।

उहाँका अनुसार गत भदौ १२ गते साँझ पौने ८ बजेतिर भद्रपुर नगरपालिका वडा नं. ७ को फुलबारी टोलस्थित सडकको छेउमा सबैले देख्ने ठाउँमा अन्दाजी १४ दिनको पूर्ण स्वस्थ शिशु (बालक) वेवारिसे अवस्थामा फेला परेको थियो ।

हाल उक्त शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारपछि पोषण गृहमा राखिएको छ । हरियो च्यादरमा सुताइएको, सेतो पञ्जा लगाइएको, निधारमा कालो टिका लगाइएको, भेस्ट र टोपी लगाइदिएको अवस्थामा उक्त शिशुलाई भेटिएको थियो । छिटो उद्धार होस् भन्ने मनसायले मानिसहरुको प्रशस्त ओहोरदोहोर हुने सडककै छेउमा कसैले शिशुलाई छाडेर गएको हुनसक्ने उपप्रमुख कार्की बताउनुहुन्छ ।

स्थानीय बाल अधिकार समितिको बैठक बसेर शिशुको अभिभावक पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको जानकारी दिदै उपप्रमुख कार्कीले सूचना जारी भएको दुई दिन बितिसक्दा समेत अहिलेसम्म शिशु दावी गर्न कोही पनि नआएको बताउनुभयो ।

“डाक्टरहरुले परीक्षण गर्दा शिशुको स्वस्थ रहेको भन्नुभएको छ,” उहाँले भन्नुभयो–“शिशुका वुवाआमा र अभिभावक प्रमाणसहित आउनुभयो भने उहाँहरुलाई नै शिशु जिम्मा लगाउँछौं ।”

वेवारिसे शिशु फेला परेको हुँदा पालनपोषण गर्न इच्छुक ५० जनाभन्दा बढी व्यक्तिहरु स्थानीय बाल अधिकार समितिको सम्पर्कमा आएको समेत उपप्रमुख कार्कीले जानकारी दिनुभयो । धर्मपुत्रको रुपमा पालनपोषण गर्न चाहने व्यक्तिहरु डाक्टर, इन्जिनियर, प्राध्यापकहरु समेत रहेको उहाँले बताउनुभयो ।

“अहिले हामी शिशुको बावुआमा र अभिभावक खोजिरहेका छौं,” उहाँले भन्नुभयो–“बाबुआमा र अभिभावक पत्ता लगाउन सकिएन भने मात्र कानून बमोजिम अदालतले नै शिशुको अभिभावक बन्न इच्छुक व्यक्तिहरुमध्ये कसलाई दिने भन्ने निर्णय गर्नेछ ।” निज बालकको बाबुआमा र अभिभावकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरको स्वास्थ्य प्रतिवेदन अनुसार शिशु रातो वर्णको र लगभग तीन केजी तौलको रहेको छ ।