३० वैशाख २०८१, आइतवार

अर्जुनधाराको धानबालीमा गवारो र फौजीकिरा फैलियो

१९ भदौ २०८०, मङ्गलवार
Image

झापा, १९ भदौ । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा किसानले लगाएको धानबाली गवारो र फौजीकिराको प्रकोप देखा परेको छ । रोग फैलिन थालेपछि किसानहरु चिन्तित भएका छन् ।

प्रकोपका कारण वडा नम्बर ३, ४ र ७ को ४० बिगाहा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अरुतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखाकी प्रमुख एन्जिला बिडारीले बताउनुभयो ।

“गवारो, ढुसी र फौजी किराको प्रकोप देखा परेको छ,” बिडारीले प्रकोप बारे जानकारी दिदै भन्नुभयो–“केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अरुतिर फैलिने सम्भावना छ ।”

प्रकोप नियन्त्रण गर्न किसानहरुलाई किटनाशक विषादि दिएर पठाउने र रोग नियन्त्रण गर्ने उपाय सिकाउने गरिएको उहाँले बताउनुभयो ।

हुर्किन लागेको धानबालीमा रोग फैलिएपछि चिन्तित बनेका किसानहरु मर्न थालेको धानको बोटै बोकेर नगरपालिकाको कृषि शाखामा जाने गरेका छन् । रोगको प्रकोप सबैभन्दा बढी वडा नं. ७ मा रहेको शाखा प्रमुख बिडारीले बताउनुभयो । 

“परम्परागत तरिकाले खेती गर्दा यस्तो प्रकोप देखा पर्ने धेरै सम्भावना हुन्छ”, उहाँले भन्नुभयो, “धान रोपेपछि गोडमेल गर्ने र पानी पटाइरहने बानी हाम्रा किसानको छैन । खेतीमा रोगले आक्रमण गरिरहेको छ भने बेलैमा त्यसको नियन्त्रणको उपाय गर्नुपर्छ ।” किसानहरु प्रकोपले गाँजिसकेपछि ढिलो सम्पर्कमा आउने गरेको कृषि शाखाको गुनासो छ ।

किसानहरु रोगाएको धानको बोटै बोकेर कार्यालयमा आउन थालेपछि कृषि शाखाका प्राविधिक टोलीले संक्रमित क्षेत्रको अनुगमन गरेको छ । फिल्डमै गएर किसानहरुसँग बुझ्ने, प्रकोपको अवस्था हेर्ने र किटनासक विषादि प्रयोगको तरिका सिकाउने गरिएको उहाँ बताउनुहुन्छ ।

नगरपालिकाको कृषि शाखाले किसानलाई औषधि निःशुल्क वितरण गरिरहेको जनाएको छ  । अर्जुनधारा–३ का युवराज इङ्नामले किसानले पाँच कठ्ठादेखि एक विगाहसम्मको जमिनमा लगाएको धानबालीमा रोग देखा परेको बताउनुभयो । 

“केही किसानहरु नगरपालिकाको कृषि शाखामा जानुभयो र औषधि लिएर आउनुभयो,” इङ्नामले भन्नुभयो–“धेरैजसो किसानहरु पुर्पुरोमा हात राखेर खेतमा डुलिरहनु भएको छ । के औषधि कहाँबाट ल्याउने हो भन्ने उहाँहरुलाई जानकारी नै छैन ।”

वडा नं. ३ का वडा सचिव खगेन्द्र लिङ्देनले किसानहरु रोग लागेर पहेलो भइसकेको धानको बोट लिएरै आउने गरेको बताउनुभयो । आफ्नो वडाको लगभग २० बिगाहामा रोग देखिएको जानकारी दिनुभयो । नगरको कृषि शाखाले किसानलाई क्लोरोफाइलिन प्लस, एमामेक्टिन बेन्जाएट लगायतका नामक किटनाशक विषाधि निःशुल्क उपलब्ध गराइरहेको छ । 

जिल्ला कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले जिल्लाको धानबालीमा फाटफुट मात्र रोगको प्रकोप देखा परेको जानकारी आए तापनि प्रकोपकै रुपमा नफैलिइएको बताउनुभयो । उहाँले गवारो, ढुसी र फौजी किराको संक्रमण फैलिएको भए सम्पर्कमा आउन किसानहरुलाई आह्वान गर्नु भएको छ ।