४ जेठ २०८१, शुक्रवार

‘एमाले बेथितिको पक्षमा छैन’ : मग्राती

२२ भदौ २०८०, शुक्रवार
Image

धुलाबारी, २२ भदौ । नेकपा एमाले झापा क्षेत्र नं.. १ का अध्यक्ष टिकाराम मग्रातीले आफ्नो पार्टी बेथिति र विसंगतिको पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।

मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबीचको आपसी खिचातानीका कारण विकास निर्माण एवम् सेवा प्रवाह प्रभावित हुन पुगेको विषयमा मग्रातीको उक्त असन्तुष्टि सार्वजनिक भएको हो ।

आज विहान नेपाली कांग्रेसको पहलमा धुलाबारीमा आयोजित सर्वदलीय बैठकमा अरु पाँच दलका नेतासँगै एमाले नेता मग्राती सहभागी हुनुभएको थियो ।

सर्वदलीय बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा भने उहाँले हस्ताक्षर गर्न मान्नु भएन । विज्ञप्ति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले नेता मग्रातीले पत्रकारहरुबाट सोधिएको प्रश्नको बाढी खेप्नु पर्यो ।

पत्रकारहरुको जवाफ दिदै उहाँले नेकपा एमाले मेचीनगर नगरपालिकामा मेयर, उपमेयर र बहुमतसहित भएकाले सर्वदलीय बैठकका सुझावलाई कार्वान्वयन गराउन लागिपर्ने बताउनुभयो । नगर सत्तामा रहेको कारण विपक्षी दलहरुसँगै आफुले विज्ञप्तिमा हस्ताक्षर नगरेको उहाँको प्रष्टिकरण थियो ।

‘नगरपालिकामा बेथिति र बिसंगति मौलायो भनेर सबैले भनिरहनु भएको छ,’ उहाँले भन्नुभयो–‘पार्टीहरुले समस्या बारे बेलैमा ध्यानाकर्षण गराउनु भयो । यसलाई मैले स्वाभाविक ठानेको छु । एमालेले जनप्रतिनिधिहरुलाई बेथिति बढाउनुहोस् भन्दैन । सुशासन कायम गर्नुहोस् भन्छ ।’

जनप्रतिनिधिहरुलाई केही कर्मचारीहरुले नटेरेको प्रसंग समेत उहाँले कोट्याउनुभयो । नेकपा एमालेले नगरपालिकाभित्र भइरहेका क्रियाकलाप र जनगुनासाहरुलाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले नगरका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर समस्याहरुको उचित समाधान खोजिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

मग्रातीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा भनाईलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै जनप्रतिनिधि भनेको आउने जाने गरिरहने व्यक्ति हुन् भने कर्मचारीहरु एकपटक गएपछि फेरि फर्केर नआउने व्यक्ति हुन् भन्ने टिप्पणी गर्नुभयो ।

पत्रकार सम्मेलनमा सहभागी एमाले नेता मग्रातीले सर्वदलीय विज्ञप्तिमा हस्ताक्षर नगरेको विषयलाई स्वाभाविक रुपमा लिइदिन आग्रह गर्दै नेकांं क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भन्नुभयो–‘नगरपालिकाको बेथिति हटाउने विषयमा हाम्रो र उहाँको दृष्टिकोण मिलेको छ । तथापि नगर चलाउने जनप्रतिनिधिहरुको बहुमत प्राप्त दल भएकोले उहाँले यहाँ हस्ताक्षर नगर्नु भएको हो । उहाँले यहाँका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउन सहयोग पुर्याउनु हुनेछ ।’