२३ वैशाख २०८१, आइतवार

एसियाली खेलकुद

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा

२० असोज २०८०, शनिवार
Image

झापा, २० असोज । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुवा धनमान राई भैंसी चराउन जंगल जानु भएको थियो । आमा तिलसरी राई पुरानो दराजमा इनामेल रंग्याउँदै हुनुहुन्थ्यो ।

हल्दिबारी गाउँपालिका वडा नं. ३ देवीवस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुवा र आमा बस्नुहुन्छ । नजिकै जलथल जंगल छ, जहाँ अनुजाका बुवासहित गाउँका मानिसहरु गाईभैंसी र बाख्रा चराउन जाने गर्छन् । अधुरो हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जंगलकै छेउमा खेतीकिसानी गरेर अनुजाको परिवारले जीवन धान्दै आएको छ ।

चीनको हाङजाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक काँस्य पदक जितेको छ । मेनुका राजबंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन् । गत सोमवार बंगलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो । एसियाली खेलकुदको कबड्डी प्रतिष्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ ।

सानो घर, थोरै खेतीपाती र भैसीपालनको परिवेशले अनुजा संघर्ष गरेरै खेल जगतमा गाउँबाट फक्रिएकी दुर्लभ प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ । किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुवा धनमान वैदेशिक रोजगारीमा जानु भएको थियो । आमा र हजुरआमा (बोजु)को ममतामा हुर्किएकी अनुजा सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन् । अनुजाकी दिदी रोशनी राई वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा गएकी छन् भने भाइ पनि आर्जनका लागि विदेश नै जाने तयारीमा छन् ।

शुक्रवार दिउँसो पत्रकार घरमा आएको खबर पाएपछि अनुजाका बुवा धनमान जंगलको चरनमै भैसी छाडेर घर फर्किनुभयो । काठे बेराको भुइँतले घरका साँघुरा कोठाहरुमा खचाखच मालसामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदकहरु असरल्ल थिए । कोही पोखरा र काठमाडौंमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदकहरु थिए । अनुजाले पाएका पदकहरु कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए ।  

“कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी,” आमा तिलसरी राईले अनुजाको बाल्यकाल सम्झिदै भन्नुभयो–“स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेरेको छ । अति भएपछि पढाई बिगार्ली भन्ने चिन्ता थपियो । पढ्नमा मन लगा छोरी, यसरी खेलामा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौं । तर, उसले मानिन । कबड्डी खेल्न छाडिन ।”

कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने संकल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित भएर लागेकी अनुजालाई कबड्डीमा डोहोर्याउने प्रशिक्षक झापाकै रतिया राजबंशी हुनुहुन्छ । हाल भद्रपुर वडा नं. ६ का वडाध्यक्ष रहनु भएको राजबंशी अखिल नेपाल कबड्डी संघका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्व राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ ।

“दश वर्ष अघि गाउँका स्कुलतिर खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएको थिएँ,” आफुले प्रशिक्षित गराएकी अनुजाले एसियाली खेलमा पदक जित्दा खुशी लागेको बताउँदै कबड्डी संघका तत्कालीन प्रशिक्षक राजबंशी भन्नुहुन्छ–“जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ । अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ । तिनै छात्रा नै अहिलेकी अनुजा हुन् । मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्नेछिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ । मेरो त्यो अनुमान अहिले साँचो ठहरियो ।” 

अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । उसबेला गाउँका अरु केटीहरु टाइसुटमा ठाँटिएर बोर्डिङ स्कुल पढ्थे । घरायसी आर्थिक औंकात नपुगेका कारण उनले पैदल धाएरै सरकारी विद्यालयमा पढ्न् ि। पढ्न र खेल्न बाहेक उनले गाईबस्तु पनि चराउनुपथ्र्यो, घाँस पनि काट्नु पथ्र्यो ।

“स्कुल धाउँथिन्, तर उनको मन र मस्तिष्क चाहिँ कबड्डी खेलतिरै एकोहोरिएको थियो,” अनुजाको पठनपाठन बारे पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बन भन्नुहुन्छ–“उनको पढाईको स्तर सामान्य थियो । कबड्डीमा रुचि भने अचम्मकै थियो । चारपाँच जना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो । कबड्डीका प्रशिक्षक रतिया राजबंशीले विद्यालयमै आएर उनलाई खेलाडी छनौट गर्नु भएको थियो । विद्यालयमै अरुसँगै नियमित तालिम पनि दिनुभएको थियो ।”

आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वाभिमान उचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुशीको माहौल छाएको उहाँले बताउनुभयो । “मैले पनि बंगलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुशी लाग्यो”–उहाँले भन्नुभयो । 

प्रअ बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटकपटक गोल्डमेडल जितेकी थिइन् । पछि जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन् । अहिले उनी नेपाली सेनाको विभागीय टीम आर्मी क्लबमा आवद्ध रहेकी छन् ।

एसियाली खेलकुदमा भाग लिन चीन जानु अघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आशिर्वाद मागेकी रहिछन् । जितेर आउनु भनेर आफुले आशिर्वाद दिएको मनमायाले बताउनुभयो । कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुशी लागेको बताउने मनमायाले आफैले काखमा बोकेर हुर्काएकी अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुशी व्यक्त गर्नुभयो ।

खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा कबड्डीको प्रतिष्पर्धा हेर्न छिमेकीका घर गएर टिभी हेर्ने गर्थिन् । धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले आफ्नै घरमा टिभी किनेर ल्याउनु परेको सुनाउनुभयो । “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौं,” आमा तिलसरीले अनुजाको खेल अभिरुचि बारे सुनाउँदै भन्नुभयो–“खेल खेलेरै नाम कमाउँछु भन्थी । उनको सपना आज पूरा भएको छ । हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौं ।”

नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तरवार्ता सञ्चारमाध्यमहरुमा छाएका थिए । पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुवा धनमानलाई सुनाएका थिए भने गाउँलेहरुले मोवाइलमा युट्युबमार्फत अनुजाको अन्तरवार्ता देखाएका थिए । पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताउनुभयो ।

“म वैदेशिक रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरेँ,” अनुजाको खेल सफलता बारे वुवा धनमान भन्नुहुन्छ–“एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन् । यसमा हामी ज्यादै खुशी छौं ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।