२३ वैशाख २०८१, आइतवार

कोशीमा पाँच लाख केजी नौनी घिउ बिकेन : डेरी एसोसिएसन

२९ असोज २०८०, सोमवार
Image

झापा, २९ असोज । सरकारले गरेको अदूरदर्शी मूल्यवृद्धिका कारण कोशी प्रदेशमा डेरी उद्योगहरुले उत्पादन गरेको पाँच लाख केजी नौनी घिउ बिक्री नभएर नष्ट हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

बिगत तीन महिनादेखि उत्पादन भएको नौनी घिउ लगायत दुग्धजन्य पदार्थ विक्री नभएर व्यवसायीहरु संकटमा परेको नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगाप्रसाद खड्काले आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

“दुधको उत्पादन बढेको बढ्यै छ, तर दुध र दुधबाट बनेका विभिन्न उत्पादनको विक्री हुन सकेको छैन”–उहाँले भन्नुभयो । हाल प्रदेशका ठूला आठ वटा निजी डेरी उद्योगमा पाँच लाख केजी नौनी घिउ विक्री नभएर थन्किएको र तीमध्ये दुई लाख केजी नौनी घिउको म्याद गुज्रिन लागेकाले खाडलमा हालेर पुर्नुपर्ने अवस्था नजिकिएको उहाँको भनाई छ ।

विक्री नभएका कारण डेरी उद्योगमा थुप्रिएको नौनी घिउ आफ्नै कोल्ड स्टोरमा भण्डारण गर्न असम्भव भएको उद्योगीहरुले जनाएका छन् । निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको विर्तामोडको रोयल कोल्डस्टोर लगायत झापा र मोरङका पाँच वटा ठूला कोल्डस्टोरमा नौनी घिउ राखिएको नेपाल डेरी एसोसिएसनको वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले जानकारी दिनुभयो ।

सीमावर्ती भारतीय क्षेत्रबाट अबैध रुपमा भित्रिएको दुध र दुधजन्य पदार्थले नेपालको आफ्नो उत्पादन विक्री नभएको डेरी व्यवसायीहरुको भनाई छ । भारतमा भन्दा नेपालमा दुधको मूल्य रु. पाँचभन्दा धेरै भएकाले भारतबाट लुकीछिपी दुध र पनिर भित्रिन थालेको डेरी एसोसिएसनका केन्द्रीय महासचिव हेमचन्द्र खनाल बताउनुहुन्छ ।

उहाँले गत फागुनमा सरकारले भारतीय बजारको अध्ययन नगरी दुधको भाउ बढाएपछि सीमामा दुधको तस्करी भएर आयात भइरहेको दावी गर्नुभयो । “खुला सीमा भएकाले जति नै कडाई गरे तापनि भारतबाट भित्रिने दुध रोक्न सकिन्न,” उहाँले भन्नुभयो–“यसको नकारात्मक असर देखा पर्न थालिसकेको छ । किसानहरुले उत्पादन गरेको दुध र त्यसबाट बनेका घिउ, छुर्पी, पनिर लगायतका सामान नबिकेर व्यवसाय नै धराशायी भइरहेको छ ।”

दुध बिक्न छाडेपछि कोशी प्रदेशमा ‘मिल्क होलिडे’ सुरु भएको छ । डेरी व्यवसायीहरुले उत्पादन नबिकेपछि किसानहरुलाई दुधको भुक्तानी दिन पनि समस्या हुने चेतावनी दिएका छन् ।  

मेचीनगर–१२ मा रहेको ऋतिका डेरी उद्योगले किसानबाट दैनिक ३५ हजार लिटर दुध संकलन गरिरहेकोमा दैनिक २२ हजार दुध मात्र खपत हुने गरेको डेरीका सञ्चालक राजन चिमरियाले बताउनुभयो । दसैंका बेला किसानलाई भुक्तानी दिन आफुल अढाई करोड रुपैयाँ ऋण थपेको समेत उहाँको भनाई थियो । 

उद्योगहरुमा ६ अर्बको पाउडर दुध समेत स्टकमा थन्किएको छ । साउन भदौको बेला दुध उत्पादनमा कमी नआउँदा पाउडर दुध प्रयोगमा नआएको उहाँले जानकारी दिनुभयो ।  

मूल्यवृद्धि फिर्ता लिन माग

डेरी व्यवसायीहरुले गत फागुनमा प्रति लिटर रु. १० का दरले गरिएको मूल्यवृद्धि फिर्ता दिन सरकारसँग माग गरेका छन् । दुग्धजन्य उत्पादनको विक्री नहुनुमा मूल्यवृद्धि प्रमुख कारण भएको व्यवसायीहरुको भनाई छ ।

डेरी व्यवसायीहरुसँग कुनै सरसल्लाह नगरी र खुला सीमा भएको भारतीय बजारको अवस्थालाई ख्यालै नगरी सरकारले मूल्यवृद्धि गरेको व्यवसायीहरुको आरोप छ ।

कृषकको उत्पादन लागतमा भइरहेको वृद्धिलाई न्यूनीकरण गर्न कार्यदल गठन गरी व्यवस्थापन गरिनु पर्ने नेपाल डेरी एसोसिएसन कोशीको माग रहेको छ ।

दुग्ध पदार्थको निर्यात र अनुदानमा तत्काल ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । स्टकको आधारमा उद्योगहरुलाई बिना व्याज कर्जा उपलब्ध गराउन समेत उनीहरुको माग छ ।

किसानलाई उत्पादनको आधारमा दिइएको अनुदान बढाउन समेत व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

सरकारले व्यवसायीका मागको वेवास्ता गरे नेपालको दुग्ध व्यवसाय चाँडै धराशायी हुने उनीहरुको चेतावनी छ ।