२३ वैशाख २०८१, आइतवार

सभामुखकै सामू विद्यार्थीले चलाए संसद्को नमुना बैठक

१८ कार्तिक २०८०, शनिवार
Image

झापा, १८ कात्तिक । “माननीय संसद् सदस्यहरु प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।”

झापाको विर्तामोडमा शुक्रवार संघीय संसद् सचिवालयले आयोजना गरेको ‘नमुना युवा संसद् अभ्यास कार्यक्रम’मा सभामुखको भूमिका निर्वाह गरिरहेका नविन तिवारीले यस्तो रुलिङ गर्दा दर्शक दीर्घामा बसेर कार्यक्रम नियालिरहेका सभामुख देवराज घिमिरे मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।

सभामुखको आसनमा बसेर प्रतिनिधिसभाको नमुना बैठक सञ्चालन गरिरहेका तिवारी विर्तामोडकै मोहनमाया माविमा कक्षा १२ मा अध्ययनरत् छात्र हुन् । तिवारीले नधकाई सभामुखको दुरुस्त अभिनय गर्दै संसद्को बैठक चलाइरहँदा दर्शक दीर्घामा सभामुख घिमिरे मात्र नभएर उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका सचेतक महेश बर्तौला, नेकपा माओबादी केन्द्रकी सचेतक रुपा शशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बिना लामा लगायतका नेताहरु हुनुहुन्थ्यो ।

नमुना संसद्मा ‘सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइयोस्’ भनेर युवा सांसद्ले राखेको संकल्प प्रस्तावमाथि छलफल चलाएर मत विभाजन गरिएको थियो । परिणाम जानकारी गराउँदै सभामुख तिवारीले भन्नुभयो–“माननीय युवा सांसद् लाक्पा डोल्मा तामाङले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाइयोस् भनी राख्नु भएको प्रस्तावको विपक्षमा कसैको पनि आवाज नसुनिएको हुँदा प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दछु ।”

सभामुखले निर्णय सुनाएपछि हलमा रहेका नमुना युवा सांसद र मन्त्रिमण्डलका सदस्यहरुले पररर ताली बजाएका थिए । त्यो दृश्यलाई अभिरुचिपूर्वक हेरिरहेका सभामुख घिमिरे, उपसभामुख रानामगर र विभिन्न दलका सचेतकहरुको हाँसो थामिएन ।


विद्यार्थीहरुलाई संसदीय विधि र क्रियाकलाप बारेमा जानकारी गराउने उद्देश्यले संघीय संसद् सचिवालयले राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र सहारा नेपालको सहयोगमा आज झापाको विर्तामोडमा नमुना युवा संसद् अभ्यास कार्यक्रम गरेको हो ।

संघीय संसद्का सभामुख घिमिरे र उपसभामुख रानामगरको गृह निर्वाचन क्षेत्र (झापा–२)का २२ वटा माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययनरत् ६० जना विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रम ज्यादै रोचक र सफल भएको सहभागीहरुको धारणा थियो ।

कात्तिक १४ देखि १७ गतेसम्म सञ्चालन भएको नमुना युवा संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रतिनिधिसभाका सांसद्हरुले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधि बारेमा प्रयोगात्मक अभ्यास गराइएको प्रशिक्षक रमेश पौडेलले बताउनुभयो ।

कार्यक्रममा सभामुख र उपसभामुखको नमुना निर्वाचन अभ्यास गरिएको थियो भने सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीहरुको अलगअलग आसनलहरको व्यवस्था मिलाइएको थियो । नमुना प्रधानमन्त्रीको रुपमा शनिश्चरे माध्यमिक विद्यालयकी कक्षा १२ की छात्रा जुनु पौडेलले उत्कृष्ट भूमिका निर्वाह गरेकी थिइन् । उनले प्रतिपक्षी दलका नेता र सांसद्हरुले सोधेका प्रश्न र पूरक प्रश्नहरुको जवाफ दिएकी थिइन् ।

प्रतिपक्षी दलको नेताको रुपमा कञ्चनजंघा नमुना कलेजका कक्षा ११ का छात्र किरण सिटौला, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको रुपमा श्रुति रसाइली लगायतले कुशल प्रस्तुति दिएका थिए । 

नमुना संसद्मा युवा सांसद्हरुले मानव–हात्ती द्वन्द्व, बढ्दो सवारी दुर्घटना, बाल यौन दूव्र्यवहार, सुकुम्बासी समस्या, सामाजिक सञ्जालको दुरुपयोग, सुपारी कृषकका समस्या, खाद्यान्नमा मिसावट, फोहोरमैला व्यवस्थापन, लागू औषधको बिगबिगी, युवाको विदेश पलायन, शिक्षाको ह्रासोन्मुख गुणस्तर लगायतका विषय उठाउँदै युवा सरकारका नमुना प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको जवाफ मागेका थिए । 

कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले नमुना संसद्मा उठाइएका सवालहरु मुलुकको वास्तविक सवाल भएको जनाउँदै कार्यक्रमले संसद्, संसदीय प्रणाली र राजनीतिप्रति विद्यार्थीहरुमा सकारात्मक सन्देश प्रवाहित भएको बताउनुभयो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।