४ जेठ २०८१, शुक्रवार

कनकाईमा विश्व–शान्ति विराट महायज्ञ सुरु

२३ कार्तिक २०८०, बिहिवार
Image

मेचीनगर, २३ कात्तिक । कनकाई नगरपालिका–४ कोटीहोम धार्मिक क्षेत्रमा विश्व कल्याण एवम् संकट निवारण गर्ने उद्देश्यले विश्व–शान्ति विराट महायज्ञ महाअनुष्ठान सुरु भएको छ । 

कनकाई नदिको पूर्वी किनारमा विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यका साथै हालै गएको भूकम्पमा परि नेपालको जाजरकोटलगायत जिल्लामा ज्यान गुमाएकाहरुका आत्मा शान्तिको कामना गर्दै ॐआदि फाउन्डेसनले तीन दिने महायज्ञ महाअनुष्ठान सुरु गरेको हो ।

यो वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना अनुसार १७ औं महाअनुष्ठान माईखोलाको किनारमा स्वस्तिक आकृतिको यज्ञकुण्ड सहितका संरचना तयार पारी सुरु गरिएको ॐआदि फाउन्डेसनका अध्यक्ष डा.उपेन्द्र महतोले जानकारी दिनुभयो ।

महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्ने बताइएको छ ।

ॐआदि फाउण्डेशनको आयोजनामा कातिक २३, २४ र २५ गते तीन दिनसम्म संचालन हुने महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ । 

महायज्ञबाट प्राप्त उर्जालाई कनकाई धाम परिसरमा नै उचित व्यवस्थापन गरी यो क्षेत्रलाई दिव्य धामका रुपमा विकास एवं विस्तार गरिने कार्यक्रम संयोजक एवं आयोजक संस्था ॐआदि फाउन्डेसनका सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले जानकारी दिनुभयो ।

महाअनुष्ठान पवित्र कनकाई माईको किनारमा सुरु भएसँगै यहाँस्थित कोटीहोम क्षेत्रमा चहलपहल निकै बढेको छ । 

आयोजकका अनुसार महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक, तान्त्रिक एवं मान्त्रिक हवन समेत गरिने छ । अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तसती चण्डी पाठ र चार वेद अखण्ड पाठ पारायण (चार दिशामा) गरिने भएको छ ।

फाउन्डेसनका प्रवक्ता समेत रहेका डा.राजु अधिकारीका अनुसार तीनदिन सम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वीयन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र एक हजार आठ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने छ ।

दिव्य धामका परिकल्पनाकार आदिचन्द्र योगीले ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्व भरी चिनाउने अलौकिक गन्तव्य बनाउने संकल्पका साथ कनकाई नदिको किनारमा महाअनुष्ठान संचालन गरिएको बताइएको छ ।

पवित्र कनकाई माईको पूर्वी किनार कोटीहोम आसपासको क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा थप व्यवस्थित बन्नेमा आँफू विश्वस्त रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।