२३ वैशाख २०८१, आइतवार

नाथमको विज्ञ टोलीद्वारा झापामा रैथाने खानाको अनुसन्धान

२३ कार्तिक २०८०, बिहिवार
Image

झापा, २३ कात्तिक । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ ।

पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा. आलोक प्रसाईको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।

उक्त टोलीले झापामा पहिलो चरणमा राजबंशी, सन्थाल र जोगी समुदायको जातीय रैथाने खानाको पहिचान गर्ने टोली प्रमुख डा. प्रसाईले बताउनुभयो ।

उहाँका अनुसार मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा जोगी समुदाय, झापा गाउँपालिकामा सन्थाल समुदाय र कचनकबल गाउँपालिकामा राजबंशी समुदायको रैथाने खानाको खोज तथा अनुसन्धान गरेको छ ।

“राजबंशी र जोगी समुदायको अध्ययन र पहिचान पूरा भइसकेको छ,” उहाँले भन्नुभयो–“अहिले झापा गाउँपालिकामा सन्थाल समुदायको खानाको अध्ययन गरिरहेका छौं ।”

नेपालमा रहेका १४२ जातिकै रैथाने खानाको अध्ययन गर्ने लक्ष्य लिएको प्रतिष्ठानले कात्तिक महिनाभित्र पहिलो चरणमा ४० भन्दा बढी जातिको खानाको पहिचान गरिसक्ने भएको छ ।

बागमती प्रदेशको १३ वटा, गण्डकी प्रदेशको १२ वटा र मधेश प्रदेशको आठ वटा जातिको रैथाने खानाको पहिचान भइसकेको उहाँले जानकारी दिनुभयो । हाल टोलीले कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम र झापाको केही जातिहरुको रैथाने खानाको अध्ययन गरिरहेको छ ।

झापाका आदिवासी जातिमध्ये राजबंशी र सन्थालको मौलिक संस्कृति, संस्कार र खानाहरु लोपोन्मूख अवस्थामा पुगिसकेको छ । आधुनिक खानाका परिकारहरुले रैथाने खानालाई लोप हुने अवस्थामा पुर्याएका छन् ।

राजबंशी जातिको भाका लगायतका रैथाने खाना निकै लोकप्रिय मानिन्छ । यस्ता खानेकुरा स्वस्थबद्र्धक र स्वादिला हुने गरेका छन् । टोलीले समुदायको घर आँगनमै पुगेर रैथाने खानाको अध्ययन गरिरहेको मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

मेचीनगर नगरपालिकाको वडा नं. ४ जोगीडाँडामा जोगी समुदायको ४२ परिवारको बसोबास रहेको र उनीहरुको परम्परागत मौलिक खानेकुराहरु हराउँदै गएकोमा वडाध्यक्ष कार्कीले चिन्ता व्यक्त गर्नुभयो । “लोप हुन लागेका खानाहरुको सरकारी तहबाटै संरक्षण र खोजी हुनु ज्यादै खुशीको विषय हो”–उहाँले भन्नुभयो ।

रैथाने खानाको अध्ययनका लागि सरकारी टोलीले स्थानीय जनप्रतिनिधि र समुदायका पाकाहरुसँग गहन छलफल र अनुसन्धान गर्दै आएको छ । अध्ययन टोलीले समुदायका ज्येष्ठ नागरिकहरुसँग ६० वर्ष अघिको खाना बारे विस्तृतमा सोधपुछ गरेर त्यसको स्वाद, बनाउने तरिका र उपयोगिता बारेमा जानकारी लिने गरेको टोलीका प्रमुख डा. प्रसाईले बताउनुभयो । 

नेपाली जातीय रैथाने खानाको पहिचान गरेर किताब प्रकाशित गर्ने र त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गरेर होटलको खाना सूचीमा समावेश गर्न लगाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।