२३ वैशाख २०८१, आइतवार

पहिचान झल्काउँदै झापामा लोपोन्मूख समुदायको देउसी

२९ कार्तिक २०८०, बुधवार
Image

झापा, २९ कात्तिक । तिहारमा नाचगानसहित खेलिने देउसीभैलीलाई लोपोन्मूख समुदायले आफ्नो हराउँदै गएको कला, संस्कृति र पहिरन प्रदर्शन गर्ने अवसरका रुपमा सदुपयोग गर्न थालेका छन् । 

लोपोन्मूख समुदायमा सूचीकृत मेचे जातिको वाहुल्य रहेको मेचीनगरमा हालै ‘मेचे सामुदायिक घरबास समिति’ गठन भएको थियो । समितिले तिहारकै अवसरमा ‘घरबास कार्यक्रम’लाई समुदायमा चिनाउन देउसीभैली खेलिरहेको समितिकी अध्यक्ष अग्निमाया मेचेले बताउनुभयो ।


मेचेको जातीय पहिरनमा सजिएका युवायुवतीले आफ्नै बाजा र भाषामा झापाको धुलाबारी, इटाभट्टा, बाहुनडाँगी, काँकडभिट्टा, जलथल, विर्तामोड लगायतका स्थानमा यसपाली सांस्कृतिक देउसीभैली खेलेको उहाँले जानकारी दिनुभयो ।

“खासमा हाम्रो आफ्नै चाडपर्व र परम्पराहरु छन्, तथापि तिहारमा सिंगो देश नै उल्लासमय हुने भएकाले हामीले समुदायको संस्कृति झल्काउँदै देउसी नाच निकालेका छौं,” आदिवासी जनजाति समुदायकी अगुवा समेत रहनुभएकी उहाँले भन्नुभयो–“मेचे जातिको होमस्टे (घरबास) गठन गरेको हुँदा त्यसकै प्रचार घरघर पुर्याउँदैछौं ।”

देउसी खेल्दा दक्षिणालाई प्राथमिकता नदिएको तर संकलन हुने रकमलाई समुदायको घरबास कार्यक्रममा सदुपयोग गरिने उहाँले बताउनुभयो । मेचे समुदायको आकर्षक पहिरन र भाषाका गीतमा नृत्यहरु समेत देखाउँदा देउसी हेर्नेहरु रमाउने गरेका छन् ।

मेचे समुदायको बसोबास झापामा मात्र रहेको छ । सरकारले उनीहरुलाई लोपोन्मूख सूचीमा सूचीकृत गरेर निर्वाहका लागि मासिक रुपमा सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको छ ।

वि.सं. २०७८ को जनगणना अनुसार मेचे जातिको जनसंख्या पाँच हजार १९३ रहेको छ । त्यसअघि वि.संं २०६८ मा पाँच हजार २००, वि.सं. २०५८ मा तीन हजार ७६३ जनसंख्या रहेको थियो ।

झापा र मोरङ जिल्लामा बसोबास गर्दै आएका आदिबासी जातिमध्ये सन्थालको नृत्यलाई दशैं र तिहार पर्वको अभिन्न परम्परा नै मान्न थालिएको छ । वि.सं. २०७८ को जनगणनाले उनीहरुको जनसंख्या ५७ हजार ३१० रहेको जनाएको छ ।

बाजाको धुनसँग हात, खुट्टा र टाउकाको चाल मिलाएर सिठ्ठी फुकी फुकी सन्थाल युवायुवती नाचेको दृश्य रोचक हुन्छ । शिरमा मयुरको प्वाख सिउरिने र हातखुट्टामा झुम्का बजाउने फरक शैली भएको सन्थाल नृत्य दशैं र तिहारमा देख्न पाइन्छ । 

नेपाल सन्थाल विकास संघका सदस्य चन्दन टुडु मौलिक चाडपर्व र सामाजिक कार्यक्रमहरुमा सन्थाल नृत्यलाई महत्व दिइने गरे तापनि उनीहरुको आर्थिक, सामाजिक र शैक्षिक विकासका लागि तीनै तहको सरकारले भरपर्दो सहयोग नपुर्याएको गुनासो सुनाउनुहुन्छ ।

सन्थालहरु आर्थिक रुपले विपन्न भएकाले उनीहरुले चाडपर्वहरुमा नाचगानलाई थोरै भए पनि आर्थिक जोहो गर्ने अवसरका रुपमा पनि लिने गरेका छन् । गाउँतिरका सन्थाल केटाकेटीहरु अन्य समुदायले जस्तै गरी घरघरमा आफनै लवजमा देउसीभैली खेल्ने गर्छन् ।

नेपालको सबैभन्दा होचो स्थान भएको कचनकबल गाउँपालिकाको वडा नं. २ मा बसोबास गर्दै आएको लोपोन्मूख गन्धर्व समुदायले पनि यसपालीको देउसीभैलीलाई समुदायको आफ्नै पहिचान झल्काउने सांस्कृतिक संग्रहालय निर्माण गर्ने अभियानसँग जोडेका छन् ।

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजको नेतृत्वमा गन्धर्वको टोली संग्रहालयका लागि सहयोग जुटाउँदै देश दौडाहामा निस्किएको अध्यक्ष रविन गन्धर्वले बताउनुभयो । टोलीले प्रदेशका मन्त्री, पालिकाका प्रमुख र राजनीतिक दलका प्रमुखहरुको घरलाई देउसीभैली खेल्ने ठाउँको रुपमा चयन गरेको छ ।

नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्ना घर आँगनमा गन्धर्वहरुको टोली देउसी खेल्न आउँदा रमाइलो लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । तिहारअघि दशैंका बेला उक्त टोलीले एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमै पुगेर सांस्कृतिक प्रस्तुतिसहित आफ्नो अभियान बारे जानकारी गराएको थियो । त्यसबेला पूर्वप्रधानमन्त्री ओलीले गन्धर्व टोलीलाई रु. एकलाख सहयोग प्रदान गर्नु भएको थियो ।

देश विदेशसम्म पुगेर सारंगी रेटेर गीत गाउने गन्धर्वहरुको आफ्नै कला, संस्कृति र परम्पराहरु छन् । पछिल्लो समय आधुनिक र बिदेशी संस्कृतिको अतिक्रमणका कारण नयाँ पुस्ताले मौलिकता बिर्सदै गएको र पुरानो पुस्ताले पुरानो संस्कृति जोगाउन हम्मेहम्मे परिरहेको समाजका अध्यक्ष रविन गन्धर्व बताउनुहुन्छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।