२३ वैशाख २०८१, आइतवार

नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्वीन्टल सयपत्री

५ मंसिर २०८०, मङ्गलवार
Image

झापा, ५ मङ्सिर । मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन् । तिहार र छठ पर्वमा पनि नबिकेका फूलहरु अब खेतमै कुहिने अवस्था छ ।

विर्तामोड नगरपालिका वडा नं. ९ का दलबहादुर अधिकारीले यसवर्ष एक बिगाहा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनु भएको थियो । गत वर्ष १० कठ्ठामा मात्र फूल खेती गर्दा मनग्ये आम्दानी भएपछि उत्साही बनेर यसपाली खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उहाँले गुनासो गर्नुभयो ।

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री फूलको उत्पादन विक्री नभएको उहाँको भनाई छ ।

“भारतबाट सयपत्री फूल र कागजको माला भित्राउन पाइँदैन भन्ने सुनिएको थियो,” उहाँले भन्नुभयो–“जब तिहारमा फूल विक्री हुने दिनहरु सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको माला मात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मिहेनत गरेर फूलाएका फूलहरु बिक्दै बिकेनन् ।”

अहिले उहाँको फूलखेतीमा दुई हजार ५०० केजी (२५ क्वीन्टल) सयपत्री ढकमक्क फूलेको छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपाली राम्रो उत्पादन दिएको उहाँकोे भनाई छ । हालको बजारभाउ अनुसार तिहारमा कम्तीमा पाँच लाखको फूल बिक्री हुने आशा गर्नुभएको उहाँले रु. ७० हजारको मात्र फूल बिकेको जानकारी दिनुभयो । उहाँले फूल खेतीमा रु. एक लाखभन्दा बढी लगानी गरेको बताउनुभयो ।

सुरुमा प्रति केजी रु. २५० मा फूल बोटबाटै बिक्री भए तापनि तिहारको मुख्य दिनहरुमा रु. ५० प्रतिकेजीका दरले बेच्न खोज्दा समेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उहाँको गुनासो छ । “ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँ सहर डुलाउँदा समेत बिकेन”–उहाँले बताउनुभयो । 

झापामा तिहारको बेला रु. एक करोडको सयपत्री फूल र रु. १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएको कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।

स्थानीय व्यापारीहरु भारतबाट आएको सयपत्री फूलको माला रु. २५ प्रति केजीका दरले विक्री भएको बताउँछन् । भन्सार अधिकारीहरुका अनुसार नेपालको फूल उत्पादक संस्थाहरुले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरे तापनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन ।

खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयूर्वेदिक औषधि उत्पादकहरुले खरिद गरेर लैजान्छन् भनेर सुने तापनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको विर्तामोडका किसान दलबहादुर अधिकारी बताउनुहुन्छ । चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन । 

सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर, विर्तामोडका शित भण्डारहरुले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताउनुभयो । “शित भण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ”–उहाँ भन्नुहुन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।