२३ भदौ २०८१, आइतवार

झापाका ईंटा उद्योग धराशायी, सोह्रवटा बन्द

५ मंसिर २०८०, मङ्गलवार
Image

झापा, ५ मङ्सिर । आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपे लगत्तै वित्तीय संकट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् ।

झापा इँटा उद्योग संघका अध्यक्ष गुणराज थापाले जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउनुभयो । 

जिल्लाको हल्दिबारी, बाह्रदशी, विर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित इँटाले जिल्ला बाहिर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म बजार ओगटेको थियो ।

दमकको गरिमा टायल्स उद्योग र गौरादहको ए–वान इँटा उद्योगका प्रोपाइटर समेत रहनु भएको थापाले आर्थिक सुधारको कुनै गुञ्जायस भएन भने सबै इँटा उद्योग धराशायी हुने बताउनुभयो । 

झापा इँटा उद्योग संघले जनाए अनुसार जिल्लाका इँटा उद्योगहरुमा रु. २५० करोड लगानी रहेको छ । कोभिडको महामारी आउनु अघि यहाँका उद्योगहरुले वार्षिक रु. तीन अर्ब ५२ करोड मूल्य बराबरको इँटा उत्पादन गर्दै आएका थिए । हाल वार्षिक उत्पादन घटेर रु. १८ करोड ३७ लाखमा झरेको छ ।

इँटा व्यवसायी महासंघ कोेशीका बरिष्ठ उपाध्यक्ष सीताराम भट्टराईले उत्पादन विक्री नहुने र बैंकको व्याजको तनावले इँटा व्यवसायीहरु मानसिक तनावमा रहेको बताउनुभयो ।

“एकातिर इँटा विक्री नभएर तनाव छ, अर्कातिर बैंकले व्याजमा ताकेता गरेको गर्यै गर्छ,” उहाँले भन्नुहुन्छ–“सबै उद्योगीहरु डिप्रेसनमा परिसके । इज्जतको सवाल छ, न बाटामा निस्किएर रुनु, न कराउनु भइसक्यो ।”

इँटा उत्पादन हुने उद्योगलाई इँटाभट्टा भनिन्छ । हरेक इँटाभट्टामा दुई सयदेखि अढाइ सय जनासम्मले प्रत्यक्ष रोजगारी पाएका हुन्छन् । बन्द भएका उद्योगबाट सयौंले रोजगारी गुमाइसकेका छन् भने चलिरहेका थोरै उद्योगमा समेत आधाभन्दा धेरै कामदार तथा कर्मचारी कटौती भइसकेका छन् ।

उद्योग संकटग्रस्त हुनुमा सरकारले पूँजीगत खर्चमा गरेको कटौती मुख्य कारण भएको उद्योगीहरु बताउँछन् । पूँजीगत खर्च कटौतीसँगै सरकारी विकास निर्माणका योजना ठप्पप्राय भएका छन् । मन्दीका कारण निजी क्षेत्रमा समेत निर्माण कार्य ठप्प हुँदै गएको छ ।

सरकारले काम भइसकेका निर्माण योजनाहरुको भुक्तानी रोकेका कारण समेत ठेकेदारहरुले इँटाभट्टा व्यवसायीको भुक्तानी रोकेका छन् । वार्षिक छ प्रतिशत शर्तमा लिएको ऋणको व्याज अहिले १६ प्रतिशतसम्म बैंकहरुले असुलिरहेको झापा इँटा उद्योग संघका अध्यक्ष थापाको गुनासो छ ।

सरकारले पूँजीगत खर्च बढाउनु पर्ने र पुरानो कर्जालाई पुनकर्जामा परिणत गरेर पुरानै व्याजदर लागू गर्न इँटा व्यवसायीहरुले माग गरेका छन् ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।