१६ वैशाख २०८१, आइतवार

निकासी पैठारी सहज बनाउन नेफाको टोली भारत प्रस्थान

१९ मंसिर २०८०, मङ्गलवार
Image

मेचीनगर, १९ मंसिर । पूर्वी नाका काँकरभिट्टाबाट भारतलगायत तेस्रो मुलुकसँग व्यापार सहजीकरणका लागि नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवाडर्स एशोसिएसन (नेफा)को टोली भारतको कोलकत्ता गएको छ । 

केही बर्षदेखि निरन्तर व्यापार घाटा बढ्दै गएपछि पैठारीसँगै निकासीलाई पनि सहज बनाउने उद्देश्यले मंगलबार सो टोली कोलकत्ता प्रस्थान गरेको हो । 

एशोसिएसनको टोलीले कोलकत्ता प्रस्थान गर्नु अघि भन्सारका कर्मचारी, पत्रकार र स्थानीय भन्सार एजेन्टहरुसँग समेत समस्या र चुनौतीका विषयमा काँकरभिट्टामा छलफल गरेको थियो । 

संस्थाका अध्यक्ष मनोज अधिकारीले पूर्वी नाकाको प्रवद्र्धन गर्न सके मात्र स्थानीय बजारलाई चलायमान बनाउन सकिने हुँदा सरकारलाई समस्याको बारेमा जानकारी गराउने र सल्लाह सुझाव दिने टोलीको उद्देश्य रहेको बताउनुभयो । उहाँले ब्यापार घाटा घटाउन राज्यले नयाँ योजना ल्याउन आवश्यक रहेको बताउनुभयो ।  

एशोसिएशनको टोलीले काँकरभिट्टा नाकासहित बंगलादेशको फुलबारी नाका, भारतको कलकत्तास्थित बन्दरगालगायतका नाकाको अध्ययन तथा अनुगमन गर्ने एशोसिएशनका प्रशासनिक प्रमुख बिक्रम गजुरेलले जानकारी दिनुभयो । 

नाका अध्ययन तथा अनुगमन टोलीमा एशोशिएसनका अध्यक्ष अधिकारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, सचिव इश्वरबहादुर गुरुङ, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सह–कोषाध्यक्ष सुजनकुमार न्यौपाने, कार्यसमिति सदस्य सञ्जिब अर्याल, सीता अधिकारी, गोपालबहादुर राय, गंगाराम पुडासैनीलगायत रहनु भएको छ ।

कार्यक्रममा मेची भञ्सार कार्यालय काँकरभिट्टाका कार्यबहाक प्रमुख गणपति कँडेल, भञ्सार एजेन्ट शंकर थापा, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कार्यालयका प्रमुख रोमनकुमार श्रेष्ठ, इन्टरमोडल यातायात विकास समितिको काँकडभिट्टा कार्यालयकी प्रमुख अम्बिका सुबेदीलेलगायतको उपस्थिति रहेको थियो ।