१६ वैशाख २०८१, आइतवार

खेतमा पराल डढाउने चलनले आगलागी घटना बढ्यो

२२ मंसिर २०८०, शुक्रवार
Image

झापा, २२ मङ्सिर । सावधानी नअपनाई खेतमा पराल डढाउने प्रचलनले झापामा आगलागीका घटना हुन थालेका छन् । परालमा जानजान र दुर्घटनावश आगो सल्किएका कारण मंसिरमा १५ वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । 

मेचीनगरको वडा नं. ८ मा धान झारेपछि बाँकी रहेको परालको धुस्यान जलाउँदा आगो नियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाको दुईवटा दमकलले निभाएको थियो ।

“बेलैमा नगरपालिकाको दमकल नआएको भए अरु धेरै क्षति हुन्थ्यो,” सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले घटना सुनाउँदै भन्नुभयो–“हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो । गोठमा भण्डारण गरेको डेढ बिगाहाको पराल र मालसामान पनि डढ्यो ।”

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्सिर महिनामा जिल्लाका विभिन्न स्थानमा आगलागीका १५ वटा घटना हुँदा रु. नौ लाख ५६ हजार ५०० बराबरको धनमाल क्षति भएको छ । 

प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार खेतमा असरल्ल फ्याँकिने परालमा स्थानीयबासीले नै आगो लगाउने गरेका छन् । पर्यावरणीय दृष्टिले समेत हानिकारक र मानव बस्तीमै क्षति पुग्ने भएकाले खेतभरि धेरै मात्रामा परालमा आगो लगाउने कार्य रोक्न जनचेतनाको खाँचो रहेको रेग्मीले बताउनुभयो ।

गत कात्तिक र साउनमा परालको कुन्युमा आगलागीका नौ वटा घटना हुँदा रु. चार लाख १९ हजार बराबरको क्षति धनमाल भएको उहाँले जानकारी दिनुभयो ।

झापाको गाउँहरुमा धान काटेर खेतमै कुन्यु लगाएर राख्ने र थ्रेसर मेसिन ल्याएर पालैसँग धान झार्ने चलन छ । धान झारेपछि पराल नबिक्ने भएकाले कृषकहरुले पराललाई खेतमा फिजाएर आगो लगाइदिने गर्छन् । त्यही आगो अनियन्त्रित भएर बस्तीसम्म पुग्ने गरेको भट्टराई बताउनुहुन्छ ।

विर्तामोड–१० विराटपोखरमा यसै साता धानको कुन्युमा दिउँसै आगलागी हुँदा सन्तकुमार लोहारले अधिया कमाएको डेढ सय मन धान डढेर नष्ट भयो । लाइटरबाट निस्किएको आगो फैलिदा उक्त आगलागी भएको  थियो । 

यसैसाता मेचीनगर–९ मागुरमाडीमा पाँच बिगाहा खेतको धान र चार वटा परालको कुन्युमा आगलागी भएको वडाध्यक्ष कञ्चन तामाङले बताउनुभयो । उक्त आगलागी अनियन्त्रित हुँदा नजिकैको टंकप्रसाद उप्रेतीको घरमा आंशिक क्षति पुगेको थियो । नगरपालिकाबाट आएको दमकलले आगो निभाउनु परेको थियो ।

सुख्खा मौसममा धान र परालमा छिटो आगो सल्किने हुँदा त्यसबाट तीब्र गतिमा आगो फैलिन्छ । चुरोटको ठुटा जथाभावी फ्याँक्दा, लागू औषधका प्रयोगकर्ताले नसालु पदार्थ खान जथाभावी आगो बाल्दा र बालबालिकाले आगो निस्कने बस्तु चलाउँदा आगलागी हुने गरेको छ ।

घरैपिच्छे गाईबस्तु पाल्ने चलन हराउँदै गएको र व्यावसायिक गाईफार्महरुले कलिलो मकैको साइलेज बनाएर खुवाउने गरेका कारण धानको पराल बिक्न छाडेको मेचीनगर–१० धुलाबारीका वीपी भट्टराई बताउनुहुन्छ ।

पराल नबिकेपछि भण्डारण गरेर राख्नुको साटो खेतमै छरेर आगो लगाउँदा बस्तीमा वायु प्रदूषण समेत फैलिएको पाइन्छ । डढेको परालको पिरो धुँवाले आँखा पोल्ने समस्या आउने गरेको स्थानीयबासी बताउँछन् ।