१६ वैशाख २०८१, आइतवार

युक्रेनको रणभूमिबाट

पुटिनको सिपाही भएकोमा कुनै पश्चाताप छैन

३० मंसिर २०८०, शनिवार
Image

‘प्रिय साथीहरू

सार्वजनिक रुपमा एउटा जानकारी । म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडिया (कान्तिपुर, अनलाइनखवर, रातोपाटी, शिलापत्र आदि)मा आवद्ध मिडियाकर्मी साथीहरूवाट त्यहाँको अवस्थावारे केहि वोलिदिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ । यसवारे यहाँ आएका अरु साथीहरूले के वोल्छन्, के गर्छन् त्यो उनीहरुको विषय भयो । तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु ।

हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमूल परिवर्तनको लागि वन्दुक वोकेर झण्डै १ दशक रगत र पसिना बगाइयो । अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामतः आज पनि सत्ता र शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पूँजीपतिहरुकै जगजगी छ । परिवर्तनको लागि दशकांै योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पालनकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ ।

यहि कारण उच्च जोखिम छ भन्ने थाहा हँुदाहँुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भइएको छ । पृष्ठभूमि, कथा र व्यथा भिन्नभिन्न होलान् तर वाध्यताले डोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिइरहनु भएको छ । युद्धरत देशको (यो सामान्य सैनिक जागिर जस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक र नकारात्मक सवै विषय अनुभूत गर्न सकिन्छ । यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु । 

युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के के हुन्छ ? के के गर्नुपर्छ ? के के भोग्नुपर्छ ? सैन्य संठगनभित्र के गर्न पाइन्छ र के गर्न पाइन्न ? सैन्य कानुन र अनुशासन के कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न । तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु ।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जाल र मिडिया हाउसहरु मार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी र युरोपियन गठवन्धन एवम् तिनका एजेन्टहरुको मतियार वन्न सकिन्न । न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक वोकेको प्रति कुनै पश्चाताप छ, न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक वोकेको प्रति कुनै गुनासो छ । 

आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहिन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला पाइलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिदैन, गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत छ ।

अन्त्यमा, सयौं साथीहरूले रसिया भर्ति हुन आउनुपर्यो, के कसरी हो ? च्यानल मिलाइदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएको छ , एक एक गरेर सवैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचना मार्फत जानकारी । यहाँ अहिले भर्ति वन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला । 

 धन्यवाद ।’

— in Novopetrivka, Zaporiz'Ka Oblast', Ukraine.



लेखकको बारेमा
Image
डायमन्ड सी

म्याग्दी घर भएका डायमन्ड सी पूर्व जनमुक्ति सेना हुन् । उनी रुसी सेनामा भर्ना हुनुअघि बिप्लब नेतृत्वको माओबादी पार्टीमा थिए ।