२५ वैशाख २०८१, मङ्गलवार

खेतबारीमा बाक्लै भेटिन थाले दूर्लभ अजिङ्गर

३ पुष २०८०, मङ्गलवार
Image

झापा, ३ पुस । घस्रने जातको संरक्षित बन्यजन्तुमा सूचिकृत अजिङ्गर झापाको विभिन्न स्थानमा बाक्लै भेटिन थालेका छन् ।

मंसिरको पहिलो साता भद्रपुर नगरपालिका वडा नं. ३ का अनही राजबंशीको खेतमा डरलाग्दो मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो डुलिरहेको उक्त सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले नियन्त्रणमा लिएर उक्त अजिङ्गर डिभिजन बन कार्यालय झापामा बुझाएको थियो । अजिङ्गर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ । त्यति टाढा गाउँमा अजिङ्गर कसरी पुग्यो भनेर बन कर्मचारीहरु पनि अचम्भित छन् ।

त्यसैगरी, भद्रपुर वडा नं. ५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रुखमा बेरिएर बसेको ठूलो आकारको अजिङ्गर फेला परेपछि गाउँ त्रसित बनेको थियो । दश केजी तौलको उक्त अजिङ्गरलाई बन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जंगलमा छाडिदिएका थिए । उक्त अजिङ्गर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो ।

अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशी लगायतका पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिङ्गर भेटिने गरेका छन् । यी क्षेत्र झापाको जलथल जंगल वरिपरि पर्दछ । जलथल जंगल अजिङ्गरको मुख्य बासस्थान मानिएको छ । 

जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिङ्गरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ ।

बनको उद्धार टोलीले चालु आर्थिक बर्षको पाँच महिना मात्र छ वटा अजिङ्गरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ । गत आर्थिक बर्ष २०७९÷०८० मा ११ वटा विभिन्न जातका अजिङ्गर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताउनुभयो । 

उहाँका अनुसार उद्धार गरिएका सबै अजिङ्गरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ । उहाँले पाँच केजीदेखि १६ केजीसम्मको अजिङ्गर फेला परिरहेको जानकारी दिनुभयो । “यो संरक्षित बन्यजस्तुहरु मध्येको घस्रने जन्तु हो”, उहाँले भन्नुभयो, “मानिसहरु सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ । फेला पर्ने वित्तिकै खबर गर्छन् । हामी उद्धार गरिरहेका छौं ।”

जीव बैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा. के. आर. खम्बूले जिल्लामा पाइने अजिङ्गरहरु दूर्लभ जातिको रहेको बताउनुभयो । उहाँले चिसो मौसममा तातो खोज्दै जंगलबाट अजिङ्गरहरु बाहिर निस्कने गरेको जानकारी दिनुभयो । 

“घस्रने जातका जन्तुहरुको रगत चिसो हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन् ।” उहाँका अनुसार अजिङ्गर मांसाहारी हुने हुँदा जंगलमा प्रशस्त मात्रमा आहार पाउने गर्छन् । मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिङ्गरहरु गाउँ बस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उहाँले औल्याउनु भयो ।



लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।