४ जेठ २०८१, शुक्रवार

घरैपिच्छे सुपारी, सुपारीको बोटैपिच्छे मरिचका लहरा

१३ पुष २०८०, शुक्रवार
Image

झापा, १३ पुस  सुपारीको बोटमा लहराएर फल्ने मरिच खेतीतर्फ झापाका किसानको आकर्षण बढेको छ । मरिच खेती गर्दै आएका किसानहरुले वर्षेनी रु. नौ लाखसम्म आर्जन गरेका छन् ।

थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिच खेती गरेका छन् । झापामा पछिल्लो समय “जहाँ सुपारी त्यही मरिच” खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय हात्ती प्रभावित क्षेत्रमा मरिचको खेती बढिरहेको छ ।

मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जिल्लामा १५ हेक्टर जमिनमा मरिचको व्यावसायिक खेती भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रति हेक्टर एक हजार पाँच सय केजीका दरले मरिच उत्पादन हुन्छ ।

ज्ञान केन्द्रकै तथ्यांकका आधारमा झापाका किसानले मरिच बिक्री गरेर वर्षेनी रु. दुई करोड ७० लाख आर्जन गरिरहेका छन् । धेरैजसो मरिच भारतीय व्यापारीले खरिद गरेर लैजाने गरेका छन् ।  

बुद्धशान्ति गाउँपालिकाका नेत्र संग्रौलाले झापामा मरिच खेती गर्ने पहिलो किसान आफू भएको दावी गर्नुभएको छ । उहाँले वि.सं. २०४० सालदेखि मरिचको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । उहाँको डेढ विगाहा जमिनमा अहिले मरिच लहरिएको छ । 

“पोहोर साल सुपारीको बोटमा लगाएको मरिच १० हजार केजी फल्यो,” उहाँले भन्नुभयो–“समयमा सिंचाई गर्न पाएको भए दोब्बर फल्थ्यो । कतैबाट सहयोग पाइँदैन । आफ्नै बलबुतामा यति फलाइयो ।”

पोहोर प्रतिकेजी रु. नौ सयमा विक्री भएको मरिच यसपाली रु. बाह्र सयका दरले विक्री भइरहेको छ । रु. नौ लाखमा मरिच बेचिसकेको उहाँले जानकारी दिनुभयो । चालीस वर्ष अघि रोपेको मरिचको बोटले अहिलेसम्म उत्पादन दिइरहेको उहाँले बताउनुभयो । नयाँ विरुवा हुर्काएको तीन बर्षपछि मरिच फल्न थाल्छ ।

किसानको आकर्षण बढे पनि सरकारी निकायले खेती प्रवर्धनमा खासै सहयोग नपुर्याएको किसानहरुको गुनासो छ । सरकारी प्रोत्साहन हुने हो भने मरिच खेतीको विस्तार हुने संग्रौलाले बताउनुभयो ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान निलकण्ठ तिवारीले एउटै बोटमा पाँच केजीसम्म मरिच फलाएको बताउनुभयो । उहाँले २५० वटा सुपारीको बोटमा मरिच लगाएको जनाउँदै वार्षिक रुपमा दुई सय केजी उत्पादन भइरहेको जानकारी दिनुभयो । “मरिचका आधा जति बोट मरिसके,”, उहाँले भन्नुभयो, “के रोग लागेको हो, पत्तो हुँदैन । विज्ञ प्राविधिक छैनन् ।”

मेचीनगरको वडा नं. ४ मा घरैपिच्छे सुपारी खेती र सुपारीको बोटैपिच्छे मरिचका लहरा देख्न पाइन्छ । स्थानीय कृषक युवराज गिरीले वर्षेनी २०० केजी मरिच फलाउने गरेको बताउनुभयो ।

मरिच खेतीमा अरु जस्तो धेरै झञ्झट गर्नु नपर्ने र उत्पादनको विक्रीका लागि बजारको कुनै समस्या नभएको उहाँको अनुभव छ । सुपारी बाहेक, आँप र अरु प्रजातिको रुखमा पनि मरिच लहराउने उहाँले जानकारी दिनुभयो ।

नेपालमा इन्डोनेसिया, श्रीलंका लगायतका तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ । तेस्रो मुलुकबाट आएको मरिचका कारण स्वदेशी मरिचले भनेजस्तो मूल्य नपाएको किसानहरु बताउँछन् ।

“मूल्यका हिसाबले मरिच कालो सुन हो,” कृषक तिवारीले भन्नुभयो, “यसको व्यावसायिक उत्पादनलाई सरकारले प्रोत्साहित गर्ने हो भने धेरै किसान मरिच खेतीमा लाग्ने थिए । मुलुकमा आर्थिक समृद्धि ल्याउन मरिचले मदत पुर्याउने थियो ।