१५ वैशाख २०८१, शनिवार

विर्तामोडमा 'स्पाइन एक्स' ट्रमा अस्पताल उद्घाटन

१६ पुष २०८०, सोमवार
Image

झापा, १६ पुस । ‘मेडिकल हब’ बनिरहेको विर्तामोडमा मेरुदण्डको विशिष्ट उपचार हुने स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर उद्घाटन भएको छ ।

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. बिनोद बिजुक्छेले विर्तामोड–३ भगवानचोकमा स्थापना भएको १५ शैय्याको उक्त अस्पताल आज उद्घाटन गर्नु भएको हो ।

अस्पतालका सञ्चालक एवम् वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीले मेरुदण्ड (स्पाइन) सम्बन्धी उपचार गर्ने नेपालकै यो पहिलो ट्रमा सेन्टर भएको बताउनुभयो । अस्पतालमा रु. ३० करोडको प्रारम्भिक लगानी रहेको जनाउँदै उहाँले यहाँ हाडजोर्नी, नशा तथा मेरुदण्ड सम्बन्धी सबै विशेषज्ञ उपचार सेवा प्रदान गरिने र एक वर्षपछि यसलाई विस्तार गरेर १०० शैय्याको बनाइने जानकारी दिनुभयो ।

सडक दुर्घटना हुँदा मानवीय क्षतिदर उच्च हुने र त्यसको तत्काल विशेषज्ञ उपचार सेवा उपलब्ध भएमा जीवन बचाउन सकिने सम्भावना भएकाले स्पाइन ट्रमा अस्पतालको आवश्यकता भएको उहाँले बताउनुभयो । अस्पतालमा गुणस्तरीय र सर्वसाधारणको सहज पहुँच पुग्नेगरी सुलभ उपचार सेवा दिइने बताइएको छ ।

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले विर्तामोड स्वास्थ्य उपचारको केन्द्र बनेकोमा खुशी व्यक्त गर्दै उपचारलाई कम आय भएका सर्वसाधारणको पहुँचयोग्य बनाउनु आजको चुनौति भएको बताउनुभयो ।

मेरुदण्ड सर्जन डा. गौरवराज ढकालले हाडजोर्नी तथा मेरुदण्डको उपचारका लागि अब भारत धाउनु नपर्ने बताउनुभएको छ । उहाँका अनुसार अस्पतालले कि–होल सर्जरी, जोर्नी प्रत्यारोपण, कम्प्लेक्स ट्रमा सर्जरी, बोन बायोप्सी, छिनेको हातखुट्टा जोड्ने उपचार, सीटी स्क्यान, अत्याधुनिक ल्याब, क्याबिनसहितको डे–केयर सर्जिकल मेडिकल वार्ड लगायतको उपचार सेवा तथा सुविधा प्रदान गर्ने भएको छ ।

झापाको बिर्तामोडमा यसअघि निजी क्षेत्रबाट स्थापना भएका एक दर्जन सुविधासम्पन्न अस्पताल सञ्चालनमा रहेका छन् । बीएन्डसी टिचिङ हस्पिटल, पूर्णटुंग बिर्तासिटी हस्पिटल, मनमोहन सामुदायिक अस्पताल, कनकाई अस्पताल, कञ्चनजंघा अस्पताल, सञ्जीवनी अस्पताल, मेची आँखा अस्पताल, विर्ता आँखा अस्पताल, दृष्टि आँखा अस्पताल लगायतका अस्पतालले झापा जिल्ला मात्र नभएर कोशी प्रदेशका विभिन्न पहाडी जिल्ला र भारतबाट आउने बिरामीको आधुनिक प्रविधियुक्त चिकित्सा सेवा प्रदान गरिरहेका छन् ।

विर्तामोडमा निजी क्षेत्रबाटै कोशी प्रदेशकै पहिलो क्यान्सर अस्पताल पनि सञ्चालनमा रहेको छ । यहाँको पूर्वाञ्चल क्यान्सर अस्पतालले मुलुकभरका क्यान्सर बिरामीलाई अत्याधुनिक उपचार सेवा प्रदान गरिरहेको छ । 

एक दशक अघिसम्म पूर्वी नेपालका अधिकांश बिरामी विशेषज्ञ उपचार सेवा लिनका लागि भारतको सिलिगुढी, दिल्ली, पटना, कोलकाता र मुम्बई जाने गर्दथे । अत्याधुनिक सुविधायुक्त अस्पताल नेपालमै सञ्चालनमा आएपछि भारतमा उपचारका लागि जाने प्रचलन अहिले हटेको छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।