२१ वैशाख २०८१, शुक्रवार

मेचीनगरको सडक निर्माणमा विश्व बैंकको रु. एक अर्ब सहयोग

२१ पुष २०८०, शनिवार
Image

झापा, २१ पुस  विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिद मार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्रे सडक निर्माण हुने भएको छ । 

नगरको दुई महत्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा टेवा पुग्ने उक्त सडकमा विश्व बैंकको रु. एक अर्ब तीन करोड लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताउनुभयो ।

सात प्रदेशको ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (रु. दुई खर्ब) आर्थिक सहयोग गर्ने सम्झौता भएको थियो ।

उक्त परियोजना अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. १ को मेचीनगरमा दुई वटा सडक कालोपत्रे गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (रु. एक अर्ब तीन करोड) सहयोग दिएको नेपाली कांग्रेसका महामन्त्री तथा झापा–१ का प्रतिनिधिसभा सदस्य शर्माले बताउनुभयो ।

उहाँका अनुसार सहिदमार्ग अन्तर्गत धुलाबारी मोडदेखि बजार क्षेत्र हुँदै खुट्टिडाँगीको थोप्लेबिरान सामुदायिक बनको कार्यालयसम्म ५.३ किलोमिटर कालोपत्रे निर्माण हुनेछ । उक्त सडकको चौडाई १२ मिटर, ड्रेन र डबल लेन रहने उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सूर्योदय मार्ग अन्तर्गत पूर्वीनाकाको काँकडभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको ८.५ किलोमिटर लामो सडक कालोपत्रे, डबल लेन र ११ मिटर चौडाइको रहने शर्माले बताउनुभयो ।

संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विशव बैंकसँगको सम्झौतामा ती दुबै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नु पर्ने उल्लेख छ ।