३० वैशाख २०८१, आइतवार

बाहुनडाँगीमा तरुल उत्सवको तयारी

२१ पुष २०८०, शनिवार
Image

झापा, २१ पुस । बाहुनडाँगीमा रैथाने बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले दोस्रो मेचीनगर तरुल उत्सव हुने भएको छ । 

आगामी पुस २९ र माघ १ गते ऐतिहासिक दोस्रो मेचीनगर तरुल उत्सव हुने मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । वडाले उत्सव गतबर्षबाट लगाउन सुरु गरेको हो ।

परम्परागत रुपमा सबै समुदाय र भूगोलका नेपालीले स्वादिलो मानेर खाँदै आएको तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उहाँको भनाई छ ।

“हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ, मानव जातिले जंगली जीवनमै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए,” वडाध्यक्ष अर्जुनकुमार कार्कीले भन्नुभयो–“हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौं ।”

उहाँले कमल गाउँपालिका वडा नम्बर २ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने बताउनुभयो ।

उहाँले उत्सवमा घरतरुल, बनतरुल, सिमलतरुल, सिठुनी तरुललगायत विभिन्न प्रजातिका तरुलहरुले राखिने जानकारी दिनुभयो ।