२५ वैशाख २०८१, मङ्गलवार

खानेकुराका लागि मानव–हात्ती द्वन्द्व

२४ पुष २०८०, मङ्गलवार
Image

झापा, २४ पुस । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यसवर्ष मानव–हात्ती द्वन्द्वका हिंसात्मक घटना तीब्र रुपमा बढेको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र त्यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् ।

झापामा २०७९ बैशाखयता एक वर्ष नौ महिनामा हात्तीको आक्रमणमा १२ जनाको मृत्यु र १३ जना अंगभंग (घाइते) भएको डिभिजन बन कार्यालय झापाले जनाएको छ । सोही अवधिमा छ वटा हात्ती मारिएका छन् ।

हात्ती आक्रमणका घटना अध्ययन गर्दा विहानी पैदल यात्रा (मर्निङ वाक) गर्ने, जंगल छेउछाउ घाँसदाउरा काट्ने र जंगल भित्र निगुरो र च्याउ टिप्न जाने मानिसहरु निशानामा परेको देखिन्छ । 

कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्ष अघि हात्तीको आक्रमणमा दिनदहाडै मृत्यु भएको थियो । दिपज्योति सामुदायिक बनमा निगुरो टिप्न जाँदा उहाँलाई हात्तीले हिंस्रक आक्रमण गरेको थियो ।

गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई विहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मार्यो । उहाँ हल्दिबारीको चिया बगानमा जंगली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा पर्नुभयो ।

झापाको उत्तरी चुरे भागदेखि दक्षिणको जलथल प्राकृतिक बन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र पर्दछ । यहाँ भारतको आसामदेखि हात्तीको बथान वर्षेनी आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको संख्यामा रहेका रैथाने हात्तीको बासस्थान नै यहिँका जंगल भएको छ ।

हात्ती सम्बन्धी अध्येताहरु झापा र मोरङको धेरै भूभाग कैयन पुस्तादेखि हात्तीको विचरण क्षेत्र रहेको मान्छन् । हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जंगली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको साठी वर्षमा जंगल मासिएर मान्छेको बस्तीले ढाकिसकेको अवस्था छ ।

तीक्ष्ण स्मरण शक्तियुक्त प्राणी भएको हुँदा हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक डुलफिर गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शंकर लुइँटेल बताउनुहुन्छ । “पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ,” लुइँटेल भन्नुहुन्छ–“यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ ।”

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंसक व्यवहार प्रदर्शन गर्ने उहाँ बताउनुहुन्छ । हात्ती आहारको खोजीमा गाउँ पसेको बेला मर्निङ वाकमा हिँडेका, निगुरो र च्याउ टिप्न गएकाहरु हिंस्रक आक्रमणको निशानामा पर्ने गरेका छन् ।

हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजबंशीको यही पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो । हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो ।  

शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घर छेउमै आक्रमण गर्दा मृत्यु भयो । हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कदा राई हात्तीको निशानामा परेका थिए ।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ । जनप्रतिनिधि हुनुअघि बिगत दुई दशकदेखि उहाँ हात्तीबाट मानिसको जनधनमा हुने क्षति न्यूनीकरणका लागि विभिन्न नयाँ अभ्यासहरु भित्राउने अभियन्ताको रुपमा चिनिनुहुन्छ ।

“हात्ती आफैमा आक्रामक प्राणी होइन। उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ,” वडाध्यक्ष कार्की भन्नुहुन्छ–“मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागू गर्न थालेका छौं । यसले क्षति न्यूनीकरणमा महत्तवपूर्ण सहयोग पुगेको  छ ।”

झापामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । वर्षेनी बाहुनडाँगीमा ठूलो संख्यामा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्ती पीडित क्षेत्रको रुपमा चिनिन पुग्यो ।

तर, सहअस्तित्वको नीति व्यवहारमा लागू गर्न थालिए पछिको बिगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन । हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जंगलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन् । 

बाहुनडाँगीमा हात्तीले बाली खाएमा क्षतिपूर्ति दिनका लागि बाली बिमा गर्न थालिएको कार्कीेले बताउनुभयो । हात्तीलाई तालिमप्राप्त युवा दस्ताले रातभर गस्ती गर्ने र बस्तीमा पस्न नदिने सुरक्षात्मक रणनीति पनि बाहुनडाँगीमा अपनाइएको  छ । हात्ती गाउँतिर पसेको संकेत दिनका लागि साइरन जडान गरिएका छन् । मानिसहरु बिगतमा जस्तो हात्तीको पछाडि दगुरेर खेदाउने जोखिमपूर्ण कार्य गर्दैनन् ।

“हात्तीलाई नबिच्क्याउने र गाउँ पस्न पनि नदिने दोहोरो उपाय अपनाएका छौं,” उहाँले भन्नुभयो–“जसको बाली खाइदिन्छ, हामी बिमामार्फत क्षतिपूर्ति दिलाउँछौं । यस्तो व्यवस्था भएपछि किसानहरुले आफ्नो खाद्यबालीको सुरक्षाका लागि ज्यान माया मारेर हात्तीसँग भिड्न जानु परेको छैन । हात्ती धपाउन तामिलप्राप्त युवाहरु खटाएका छौं । गाउँलेहरु हाहाहुहु गरेर निस्कनु पर्दैन । यसकारण क्षति कम हुँदै गएको विज्ञहरुले विश्लेषण गर्नु भएको छ ।”

झापा र मोरङमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको हात्तीका विषयमा विद्यावारिधि गर्नु भएको डा. दिनेश न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार हात्तीलाई बिच्क्याउने प्रवृत्तिका कारण हात्ती अझ बढी हिंस्रक भएर मानिसमाथि जाइलाग्ने गर्दछ । 

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।