१५ वैशाख २०८१, शनिवार

माघ २ गते रातिसम्म माइमेला, यसपाली निकै व्यवस्थित

१ माघ २०८०, सोमवार
Image

झापा, १ माघ । झापाको सबैभन्दा ठूलो र धार्मिक महत्वको पवित्र नदी कनकाईमा लाग्दै आएको माइमेलामा यसपाली थप व्यवस्थित भएको छ ।

कनकाई पूर्व कोटीहोम र पश्चिम किनारमा गरी विशाल माइमेला लागेको छ । शिवसताक्षी–१० कनकाई पश्चिमी किनारको माइमेला पुस २९ गते सुरु भएको हो । मेला माघ २ गते राति १२ बजेसम्म लाग्ने भएको छ ।

मेलामा शान्ति सुरक्षाका राम्रो व्यवस्था मिलाइएको छ । मकर नुहाउन आएका हजारौं भक्तजनले मेला निकै व्यवस्थित भएको अनुभूति सुनाएका छन् ।

मेलामा मकर नुहाउने, पूजापाठ गर्ने लगायतका कार्य भएका छन् भने विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सर्कस आदिले दर्शकलाई मनोरञ्जन दिएका छन् ।

कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ । वारि र पारि डुल्नका लागि कनकाईमा बैकल्पिक पुल निर्माण गरिएको छ । शान्ति सुरक्षाका लागि २ सय ५० जना प्रहरी परिचालन गरिएको छ । 

यहाँ मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भूटान, भारतको सिक्किम, आसाम, मणिपुर, दार्जीलिङ, सिलिगुडी लगायतका स्थानबाट तीर्थयात्री आउने गरेका छन् ।