२५ वैशाख २०८१, मङ्गलवार

जामुनखाडीको वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण

६ माघ २०८०, शनिवार
Image

झापा, ६ माघ । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ । 

प्रदेश सरकार र सामुदायिक वनको रु दुई करोड बढीको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरुलाई स्थानान्तरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिनुभयो । 

कोशी प्रदेशमा पहिलोपटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । यसमध्ये १० बिघा वनमा रहेको क्षेत्रफलमा प्राकृतिक वातावरण मैत्री मृगस्थली निर्माण गरेको उहाँले बताउनुभयो । जहाँ दुई दर्जन बढी चित्तल छाडिएको छ ।  

उहाँले सामुदायिक वनले पर्या–पर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताउनुभयो ।

“नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन”, सिटौलाले भन्नुभयो, “अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।” उहाँले हाल निर्माण गरिएको उद्धार केन्द्र सिमसार पोखरीको उत्तरतर्फ खुला वातावरणमा पशुपन्छीलाई कुद्न र उफ्रन मिल्ने भएको जानकारी दिनुभयो ।

जामुनबाडी सामुदायिक वन विसं २०६५ देखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ । वनको खुला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ । 

उहाँले सामुदायिक वनको आम्दानीबाट नै उद्धार केन्द्रलाई व्यवस्थित बनाउँदै लगेको बताउनुभयो । वनले आन्तरिक तथा बाह्य पर्यटकलाई वन क्षेत्रभित्रको पार्कलगायतका पशुपन्छीको अवलोकन गर्नका लागि रु एक सय प्रवेश शुल्क लिने गरेको छ । 

सामुदायिक वनको आम्दानीले सो क्षेत्रको व्यवस्थापनसँगै अन्य कार्य गर्नुपरेका कारण आर्थिक समस्या रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उहाँको गुनासो छ ।

उहाँले जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै यहाँ उपचार र संरक्षणका लागि ल्याइदिने गरेको जानकारी दिनुभयो । जामुनखाडीको विशेषता भनेको नै वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र र चिडिया घर भएको उहाँको कथन छ । 

वर्षौंदेखि वनभोजस्थलका रुपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो । यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बालउद्यान केन्द्र र मिनी रेलले पर्यटक आकर्षित गर्दै आएका छन् । उहाँले यहाँ पालिएका र उद्धार गरिएका पशुपन्छीलाई हालसम्म आफ्नै लगानीमा पशुचिकित्सकलाई ल्याएर उपचार गरिरहेको बताउनुभयो । चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटक कोभिडपछिको समयमा बढ्दै गएको उहाँले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।