१५ वैशाख २०८१, शनिवार

दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

११ माघ २०८०, बिहिवार
Image

झापा, ११ माघ । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका  अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । 

“बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ”, प्रमुख डा गौतमले भन्नुभयो । जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाँले बताउनुभयो । 

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।  

दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ । “दादुरा–रुवेला बढी सङ्क्रामक हुन्छ”, खोप शाखा प्रमुख डा गौतमले भन्नुभयो, “त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छाँै ।” 

लेखकको बारेमा
Image
रासस

रासस