२६ वैशाख २०८१, बुधवार

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

१२ माघ २०८०, शुक्रवार
Image

झापा, १२ माघ । जिल्लामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । केरा खेतीबाट आम्दानी पनि राम्रो हुने र धान बालीको तुलनामा खेती गर्न सजिलो हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केरा खेती गरेका हुन् ।

जिल्लामा एक हजार ८९० हेक्टर जमिनमा केराको व्यवसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो । केराको फलसँग बोट र पात समेत मलका लागि बहुउपयोगी हुने उहाँको भनाई छ । उहाँले विगत तीन बर्ष यता जिल्लामा केराको व्यवसायिक खेती बढेको बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा बढी मात्र केराको व्यवसायिक खेती रहेको छ । यहाँ बार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिनुभयो ।

“धान, मकै खती भन्दा केरा खेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भन्नुभयो, “त्यही भएर किसानहरु धान खेत मासेर केरा खेतीतर्फ आकर्षित भइरहेका छन् । 

१० कठ्ठा जमिनदेखि ५७ विगाह क्षेत्रफलमा किसानहरुले केराको व्यवसायिक खेती गर्दै आएका छन् । अधिकांश केरा खेतीमा लागेका किसानहरु बैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवाहरु केरा खेतीमा लागेका छन् । उहाँले केरा खेती प्रवद्र्धनका लागि ज्ञान केन्द्रले यसै बर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

झापा गाउँपालिकाका –३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहनुभएको छ । विगत पाँच बर्ष अघि इजरालबाट फर्केर उहाँले ३० विगाह जमिनमा केराको व्यवसायिक खेती गदैै आउनुभएको छ । 

पालिकामा उहाँले गरेको केरा खेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केरा खेतीमा लाग्नुभएको छ । उहाँले युवाहरुलाई प्रोत्साहन गरेर यसको व्यवसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सजीकरण गरिदिने र प्राविधिक सहयोग समेत गर्दै आउनुभएको छ । हाल पालिकामा १५ बढी किसाले व्यवसायिक केरा खेती गरिरहनुभएको छ ।

स्थानीय २० जना युवायुवतीलाई रोजगार दिनु भएको बस्नेतले बार्षिक रु एक करोडको केरा विक्री गर्ने गरेको बताउनुभयो । उहाँले धान, मकैलगायतका अन्य बालीको तुलनामा केरा खेतीबाट बढी लाभ हुने गरेको जानकारी दिनुभयो । “यही चालु आर्थिक बर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु”, उहाँले भन्नुभयो “चाडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले समेत सबै किसानलाई लाभ दिन्छ ।”

उहाँले झापा गाउँपालिकाले केरा खेतीलाई आर्थिक करिडोरको रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीयवासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गर्नुभयो । उहाँ भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने जैन डिप स्प्रिङ्कल सिंचाई प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएको छ । 

यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले समेत भद्रपुर र गौरादह नगरपालिकामा जग्गा लिजमा लिएर व्यवसायिक केराको खेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष बासु उप्रेतीले बताउनुभयो । उहाँले भद्रपुर–५ मा २० बिगाहा र गौरादह–५ मा ५७ बिगाहा गरी ६७ बिगाहा जग्गा भाडामा लिएर केराको व्यवसायिक खेती गतबर्षबाट सुरु गरेको बताउनुभयो । 

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।