२५ वैशाख २०८१, मङ्गलवार

विकासमा राजनीति गर्नुहुन्न ः मन्त्री गुरुङ

१२ माघ २०८०, शुक्रवार
Image

झापा, १२ माघ ः सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । 

मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको मातहतमा काकडभिट्टामा रहेको ६० विगाह सार्वजनिक जग्गा पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग आज भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिनुभयो । 


“हाम्रो प्रचलन एउटा योजना क्षेत्रमा आयो भने त्यसप्रति राजनीति गरेर भत्काउने, विगार्ने तिर छ”, उहाँले भन्नुभयो, “यसले विकास होइन विनास निम्त्याउँछ, जुनसुकै पार्टीका व्यक्तिले योजना ल्याओस् सबैले सहयोग गरेर सफल बनायौं भने मात्रै असल राजनीति हुन्छ ।”

उहाँले यस क्षेत्रमा रहेको सार्वजनिक जग्गाको समस्यालाई अध्ययन, अवलोकन गरेर चाडै समाधान गर्ने बचन दिनुभएको छ । मन्त्रीले ग्रामीण आवस अन्तरगत रहेको काँकरभिट्टाको मिनी मार्केट, बस पार्क, काँकरभिट्टा क्याम्पस र खानेपानीको जग्गाको अनुगमन समेत गर्नुभएको छ । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई निर्धक्क  काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पालिकाका प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको सार्वजनिक जग्गासम्बन्धी तथ्याङ्क सहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभयो । उहाँले चाँडोभन्दा चाँडो  जग्गाको समस्या समाधानका निम्ति आग्रह पनि गर्नुभयो ।