२५ वैशाख २०८१, मङ्गलवार

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा ः महामन्त्री थापा

१३ माघ २०८०, शनिवार
Image

झापा, १३ माघ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरको गुनासो सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताउनुभएको छ । 

उहाँले आज विहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताउनुभयो । 

उहाँले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्नुभएको छ । महामन्त्री थापाले आफूहरु भूर्इंमान्छेको प्रतिनिधि भएको बताउँदै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताउनुभयो । 

“जनतामा निराश छ त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनुछ ।” उहाँले यात्रा आरम्भ गर्नु अघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताउनुभयो । 

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्ने साथै आफूले गरेका कमजोरी पत्ता लगाउन समेत मद्दत गर्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन पनि कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उहाँको भनाई छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले मजदुर किसानले नै काँग्रेस निर्माण गरेकाले उनीहरूको बिचारलाई काँग्रेसको बिचार बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी हुनुभएको छ ।  

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने जनाएको छ । महामन्त्री थापाले आजै  झापा चोकमा चिया संवाद, कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताउनुभयो ।