२१ वैशाख २०८१, शुक्रवार

सांसद् र मेयरलाई ज्यामिरगढीका युवाको प्रश्न– ‘कहिले बन्छ पुल ?’

१४ माघ २०८०, आइतवार
Image

झापा, १४ माघ । मेचीनगर वडा नं. १५ ज्यामिरगढीका युवाले निन्दा नदीको पुल बनाउन चुनावी बाचा गरेका संघीय सांसद् विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकी हराएको भन्दै व्यंग्यात्मक विरोध प्रदर्शन गरेका छन् ।

बिचार्नी र हेल्दुबारी गाउँलाई जोड्ने झोलुंगे पुलको स्थानीयबासीले वर्षौदेखि माग गर्दै आएका छन् । दुबै नेताले पुल बनाउने चुनावी बाचा समेत गर्नु भएको थियो । 

संघीय सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भएपछि पहिलो कार्यक्रमका रुपमा उक्त झोलुङ्गे पुलको २०७९ कार्तिक १० गते शिलान्यास गर्नु भएको थियो ।

पुलको निर्माण सुरु भए पनि झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको छ । 

शनिवार बिहान स्थानीय युवाले निर्माणाधीन झोलुङ्गेमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर बिरोध जनाएको ज्यामिरगढीका युवा जयराम दाहालले बताउनु भयो । 

पुल निर्माणको काम रोकिएपछि ज्यामिरगढी क्षेत्रका स्थानीय चिन्तित भएकाले उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दबाबमूलक कार्यक्रम गरिएको दाहालले बताउनु भयो । 

आफैले शिलान्यास गरेको पुलको निर्माण कार्य रोकिदा पनि संघीय सांसद विश्वप्रकाश शर्माले वेवास्ता गरेको हुँदा ‘सांसद हराएको सूचना’ जारी गर्नु परेको दाहालले बताउनु भयो । शर्माले पुलको शिलान्यास कार्यक्रममा हतारो देखाए पनि अहिले यो पुलमा खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएको दाहालले बताउनु भयो ।

स्थानीयबासी मेचीनगरका नगरप्रमुख बुढाथोकीप्रति समेत उत्तिकै आक्रोशित छन् । उहाँले धेरै पटक झोलुङ्गे पुलको काम चाँडै सुरु हुने आश्वासन दिए पनि काम अझै सुरु हुन नसकेको स्थानीय रुही राजवंशीले बताउनु भयो ।

पुल नबन्दा वषौंदेखि स्थानीयले जोखिम यात्रा गर्दै आएका छन् । स्थानीय प्रकाश खडकाका अनुसार बर्षात्को समयमा निन्दा खोलामा ठूलो बाढी आउँदा बिद्यार्थीले विद्यालय जान पाउँदैनन् भने किसानले खेतीमा जान पाउँदैनन् । बिरामीले स्वास्थ्य चौकी समेत नपाउने भएकाले यो पुलको निर्माण प्राथमिकतामा पर्नु पर्ने स्थानीयको माग छ ।

निर्माणको काम रोकिएपछि झोलुङ्गे पुलमा लगाउन ल्याइएको पुलको फलामको लठ्ठामा खिया पर्न थालेको छ भने अन्य निर्माण सामग्रीहरु समेत अलपत्र अवस्थामा खोलाको बगरमा अलपत्र छाडिएको छ ।