झापा, १५ माघ । मिटर ब्याज पीडितहरुले सहिद दिवसको अवसर पारेर पूर्वी नाका काँकरभिट्टाबाट न्याय मार्च (पैदल यात्रा) गर्ने भएका छन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको आयोजनामा पहिलो चरणमा उनीहरुले पूर्वी नाका काँकरभिट्टाबाट र कञ्चपुरको महेन्द्रनगरबाट एकै पटक मंगलबार विहानदेखि यात्रा सुरु गर्ने जनाएका छन् ।
यस अघि मिटर व्याज पीडितहरुले काठमाडौंमा न्याय मार्च गरेका थिए । आर्थिक अपराधबाट पीडित बनाइएका किसान मजदूरलाई अपराधीहरुको चुंगुलबाट मुक्त गराउन सरकारलाई दबाब दिने उद्देश्यले न्याय मार्च गर्न लागिएको समितिका अध्यक्ष अवशेष कुश्वाहाले बताउनुभयो ।
समितिले आज काँकरभिट्टामा कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा तीन बर्षको लामो संघर्षपछि उपत्यका बाहिर पहिलोपटक जिल्लाका पीडितहरुलाई समेत समेटर यात्राको आरम्भ गर्न लागेको अध्यक्ष कुश्वाहाले बताउनुभयो ।
उहाँले देशभर पाँच लाख बढी मिटर व्याज पीडित रहेको जानकारी दिँदै भन्नुभयो, “मुद्दा लड्दा लड्दै हामीले सर्वस्व गुमाइसक्यौं । तर हाम्रो कुरा सरकारले सुनेन, आयोगले पनि बेवास्ता गर्यो । सरकारको ध्यानाकर्षण गराउँदै हामीले एकैपटक पूर्व र पश्चिमबाट यात्रा तय गरेका हौं ।”
उहाँले यात्रा शान्तिपूर्ण हुने बताउनुभयो । पूर्वी काँकरभिट्टाबाट र महेन्द्रनगरबाट हिंडेको यात्रा चितनवमा पुगेर १५ दिनपछि एकै साथ काठमाडौं प्रवेश गर्ने उहाँको भनाई छ । उहाँले आन्दोलन स्वरुप गरिएको यात्रा अवधिमा पीडितहरुले सडकमा खाने र सडकमै बस्ने जानकारी दिनुभयो ।