२१ वैशाख २०८१, शुक्रवार

सिरक डसना बोकेरै सडकमा उत्रिए मिटर व्याज पीडितहरु

१६ माघ २०८०, मङ्गलवार
Image

मेचीनगर, १६ माघ । आजदेखि ‘न्याय मार्च’ सुरु गरेका मिटर व्याज पीडितहरुले माग पूरा नभएसम्म सडक नछाड्ने बताएका छन् ।

विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याज पीडितहरुले आज काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका हुन् ।

मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’, ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर लगायतका छ बुँदे माग सरकारसँग राखेर शहिद दिवसको अवसरमा पैदल यात्रा सुरु गरिएको बताउनुभएको छ ।

“माघको चिसोमा चप्पल लगाएर एकसरो लुगामा पीडितहरु न्याय माग्दै सडकमा आउनु बाध्यता हो,” अध्यक्ष कुशवाहले ‘न्याय मार्च’को उद्घाटन अवसरमा भन्नुभयो–“पीडितहरुको माग सरकारले छिटोभन्दा छिटो सुनोस् । जबसम्म मागको सुनुवाई हुँदैन, तबसम्म हामी सडक छाड्दैनौं ।”

सरकारले देशभरिबाट मिटर व्याज पीडितको निवेदन संकलन गरे तापनि उनीहरुलाई न्याय दिन नसकेको र अदालतबाट पनि पीडककै पक्षमा पटकपटक आदेश जारी हुन थालेको हुँदा सडक आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उहाँले बताउनुभयो । 

बिगत तीन वर्षदेखि न्यायका लागि आन्दोलन गरिरहेको जनाउँदै उहाँले अधिकारसम्पन्न न्यायिक छानविन आयोग गठन गर्न र पीडकलाई कानूनी कार्वाही गर्ने शक्तिशाली कानून निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

देशभरमा पाँच हजार र झापामा छ सयभन्दा बढी मिटर ब्याज पीडित रहेको संघर्ष समितिका झापा सचिव नाराद दवाडीले बताउनु भएको छ । पीडितहरुले मिटर व्याजीहरुलाई पक्राउ गरेर कार्वाही गर्न माग गर्दा प्रमुख जिल्ला अधिकारीहरुबाट समेत केही गर्न नसकिने निरीहता प्रस्तुत भएको गुनासो सुनाउनुभयो ।

“एउटै मिटर व्याजीले थुप्रै पीडितको उठिबास लगाएको प्रमाण छ, तर अदालतबाट उल्टै पीडककै पक्षमा निषेधाज्ञा जारी हुने गर्छ,” उहाँले भन्नुभयो–“पीडितहरुलाई न्याय दिलाउनका लागि हामी ३६ महिनादेखि निरन्तर शान्तिपूर्ण आन्दोलनमा छौं । सरकारले हाम्रा कुरा सुनेन, न्यायलयले पनि सुनेन । त्यसैले हामी सडकमा आएका छौं ।”

मेचीनगर नगरपालिका–६ का पदम कटुवालले मिटर व्याजबाट पीडितहरुले बित्थामै अदालत र प्रशासनमा तारिख धाइरहनु परेको गुनासो व्यक्त गर्दै सरकारले आफ्ना नागरिकलाई अन्याय परेको अवस्थामा गम्भीर बनेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पैदल यात्रामा सहभागी सिराहा–२ की राम राजीले रु. सात लाख ऋण लिएकोमा रु. नौ लाख तिरिसक्दा समेत मिटर व्याजीले घरजग्गा हडपेको बताउनुभयो । उहाँले भन्नुभयो–“सबै लुटियो, अब भोकै भए पनि आन्दोलनमै लाग्छु, मलाई न्याय चाहियो । मेरो सम्पत्ति फिर्ता चाहियो ।”

सिरक डसना बोकेरै आन्दोलनमा

मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाईमा भएको ‘न्याय मार्च’का सहभागीले खाने र बस्ने बन्दोवस्तीका सामान बोकेरै पैदल यात्रा प्रारम्भ गरेका हुन् । उनीहरुले सिरक डसना समेत बोकेका छन् । आन्दोलनका क्रममा कहाँ बास बस्नु पर्ने र भनेजस्तो ठाउँ नपाउँदा उपयोग गर्न सकिने भएकाले सिरक डसना नै बोकेर हिँड्नु परेको उनीहरुको भनाई छ । 

पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गरेरै चितवन हुँदै उनीहरुले १५ दिनमा काठमाडौं पुग्ने लक्ष्य रहेको बताएका छन् । यात्रामा झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी लगायतका ५० जना मिटर व्याज पीडित सहभागी छन् । जसमा आधा जति महिला छन् । आजै पश्चिमको सीमावर्ती महेन्द्रनगरबाट पनि पीडितहरुले एउटै समयमा ‘न्याय मार्च’ सुरु गरेको बताइएको छ । दुईतिरबाट सुरु भएको यात्राको चितवनमा भेट हुने र त्यहाँबाट एकीकृत भएर काठमाडौं जानु बताइएको छ । 

पैदल यात्राका कतिपय सहभागी पाको उमेरका महिला र वृद्ध समेत रहेका छन् । सोमवार विभिन्न जिल्लाबाट काँकडभिट्टामा भेला भएका पीडितहरुले स्थानीय मेची सामुदायिक भवनको चिसो कोठामा रात बिताएको स्थानीय पत्रकार पर्वत पोर्तेलले बताउनुभयो ।

मिटर व्याज पीडितहरुले समितमार्फत सरकारसमक्ष ६ बुँदे माग राखेका छन् । तमसुक, दृष्टिबन्धक र रजिस्ट्रेसन लगायतका फर्जी लिखत खारेज हुनुपर्ने र पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर हुनुपर्ने उनीहरुको प्रमुख माग छ ।

अन्य मागहरुमा मिटर ब्याज सम्बन्धी आर्थिक अपराधमा संलग्नलाई कडा कानूनी कार्वाही हुने शक्तिशाली कानून निर्माण हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने, पीडितको अभिलेखीकरणका लागि नयाँ निवेदन खुलाउनु पर्ने, पीडक साहुमहाजनलाई पक्राउ गरिनुपर्ने, स्थानीय तहमा एकलौटी प्रमाणित गराइएका कपाली तमसुकको छानविन हुनुपर्ने, पीडितमाथि भएका मानवाधिकार उल्लंघनका घटनाको छानविन हुनुपर्ने, पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने र पीडितलाई बिनाधितो सहुलियत ऋणको व्यवस्था हुनुपर्ने रहेको छ ।