२० वैशाख २०८१, बिहिवार

मेचीनगर

स्रोत सुनिश्चित नभई काम थाल्दा झोलुङ्गे पुल अलपत्र

१७ माघ २०८०, बुधवार
Image

झापा, १७ माघ । बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ । स्थानीयबासीले पुलको निर्माण अबिलम्ब सुरु गर्न दवाव सुरु गरेका छन् । 

मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७९ असार २७ गते गते सम्झौता भएको थियो । क्रमागत रुपमा संघीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का लगाइएको मेचीनगर नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताउनुभयो ।

तर, सरकारले क्रमागत रुपमा ज्यादै थोरै बजेट पठाएपछि बिलको भुक्तानी नगरपालिकाले दिन नसक्दा झोलुङ्गे पुल निर्माणको काम रोकिएको छ । आधुनिक शैलीको उक्त पुल ३५० मिटरको हुने र त्यसको कूल लागत रु. चार करोड ३८ लाख रहेको ई. भट्टराईको भनाई छ ।

सिभिल कन्स्ट्रक्सनको कार्य पूरा भएर कूल लागतको ३० प्रतिशत बिल भुक्तानीका लागि निर्माण व्यवसायी पक्षले पेश गरेको जानकारी दिदै नगरका ई. भट्टराईले भुक्तानी दिन नसकिएको स्वीकार गर्नुभयो । 

“बदनियत राखेर ठेकेदार पक्षले काम रोकेको होइन,” उहाँले भन्नुभयो–“क्रमागत रुपमा बजेट आइरहेकै छ । तर तोकिए जति आएको छैन । किन अर्थमन्त्रालयले बजेट दिन सकेन भन्ने विषयमा हामी केही भन्न सक्दैनौं ।”

स्थानीयबासीले ठेकेदार पक्षले पुलको निर्माण अलपत्र पारेर हिँडेको आरोप लगाएका छन् । मेचीनगर–१५ ज्यामिरगढीका जयराम दाहालले संघीय सांसद् विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले पुल अलपत्र हुँदा वेवास्ता गर्नुभएको गुनासो गर्नुभयो ।

उक्त झोलुङ्गे पुलको शिलान्यास संघीय सांसद् शर्मा र प्रदेश सांसद् गोपाल तामाङले संयुक्त रुपमा २०७९ मङ्सिर १० गते गर्नुभएको थियो । सम्झौता भएको लगभग एक वर्षपछि पुलको शिलान्यास भएको थियो । निर्माण सुरु भएको एक वर्ष नपुग्दै निर्माण कार्य अलपत्र परेको छ ।

मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईले संघीय सांसद् विश्वप्रकाश शर्मामार्फत बजेट सुनिश्चितताका लागि भरमग्दुर प्रयास भइरहेको बताउनुभयो । उहाँले अन्य बजेटको रकम रकमान्तर गरेर भए तापनि पुलको निर्माण सम्पन्न गरिछाड्ने भनेर आश्वासन पाएको बताउनुभयो ।

हालसम्म पुलको सिमेन्टबाट बन्ने पूर्वाधारको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र फलामको लठ्ठा समेत निर्माणस्थलमा आइपुगेको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । “बिल भुक्तानी अलमलिएको कारण मात्र पुलको निर्माण रोकिएको हो”–उहाँले भन्नुभयो ।

मेचीनगर–१५ को विचार्नी बजार र हेल्दुबारी क्षेत्रबीचमा रहेको निन्दा खोलामा उक्त पुल बनिरहेको हो । उक्त पुल नहुँदा बर्खायाममा वडाका आधा जनसंख्याले वडा कार्यालय, हेल्पोस्ट र माध्यमिक विद्यालय आउन सकस भोग्नु परिरहेको छ । 

पुलका लागि योजना मेचीनगर नगरपालिकाले स्वीकृत गरेको भए तापनि अबण्डा बजेट अन्तर्गत संघीय मामिला मन्त्रालयले क्रमागत बजेट दिने प्रतिबद्धता जनाएको हो । झोलुङ्गे पुल क्षेत्र विकास कार्यक्रम अन्तर्गत भइरहेको यो परियोजना हाल सहरी विकास मन्त्रालय मातहत सरेको बताइएको छ ।

हालै प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सदस्य निशा डाँगीले उक्त झोलुङ्गे पुलको अनुगमन गरी स्थानीयबासीको गुनासो सुन्नु भएको थियो । पुल अलपत्र परेको जनाउँदै स्थानीयबासीले सरकारको ध्यानाकर्षण हुनुपर्ने माग गरेका थिए ।

मेचीनगरका इन्जिनियर जीवन भट्टराईले उक्त झोलुङ्गे पुल नगरको आफ्नै छनौटको परियोजना भएकाले समयमै सम्पन्न गराउन विभिन्न प्रयास गरिहेको बताउनुभयो । संघीय सरकारका विभिन्न निकायमा नगरपालिकाले लगातार पत्राचार गरिरहेको जनाउँदै उहाँले भन्नुभयो–“पर्याप्त बजेट पठाउनु पर्यो भनेर मन्त्रालयमा चिठी लेख्ने काम भइरहेको छ । अन्तिममा केही लागेन भने नगरपालिकाले आफ्नै बजेट हालेर भए पनि पुल बनाउनुपर्छ ।”