१९ वैशाख २०८१, बुधवार

ज्यामिरगढी माविमा पूर्व विद्यार्थीले सरस्वती मन्दिर बनाउने

१९ माघ २०८०, शुक्रवार
Image

मेचीनगर, १८ माघ । मेचीनगर–१५ को ज्यामिरगढी माध्यमिक विद्यालयमा पशुपतिनाथको जस्तै डिजाइनको प्यागोडा शैलीमा सरस्वती मन्दिर निर्माण हुने भएको छ ।

विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थी, पूर्व शिक्षक, अभिभावकसहित शिक्षासेवीहरुको आज विद्यालयमै भएको भेलाले पूर्व विद्यार्थी डिगबहादुर बुढाथोकीको अध्यक्षतामा मन्दिर निर्माण समिति गठन गरेको हो ।

साविक ज्यामिरगढीको एकमात्र माध्यमिक तहको उक्त विद्यालयमा सरस्वतीको मन्दिर नभएको देखेर पूर्व विद्यार्थीहरुले आफैबाट सहयोग जुटाएर मन्दिर निर्माण गरिदिने पूर्व विद्यार्थी केपी शिवाकोटीले बताउनुभयो ।

समितिमा पूर्व विद्यार्थीहरु मात्र रहनु भएको छ । जसअनुसार उपाध्यक्षमा सदानन्द चम्लागाई, सचिवमा रामचन्द्र गौतम, सहसचिवमा असिम श्रेष्ठ, कोषाध्यक्षमा परेश राजबंशी र सदस्यहरुमा मञ्जु बस्नेत, रेवादास उप्रेती, मोहन काजी, केपी शिवाकोटी, भोला पराजुली, दिपेन भेटुवाल, विवेक धिताल, राजेश मेचे, सन्तोष खवास, हरि कोइराला र सुनिता राजबंशी चयन हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु बस्नेतको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलामा विद्यालयको अक्षयकोषका दाता राज्यबहादुर बस्नेत, पूर्व शिक्षक हरि आचार्य, वीरेन स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतम, ज्यामिगरढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेवादास उप्रेती, ओमकारेश्वर संस्कृत गुरुकुलका प्रचार्य निरोज खनाल लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक शान्तिराम चम्लागाईले विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिने विषयमा पूर्व विद्यार्थीहरुको निर्णयबाट विद्यालय परिवार उत्साहित भएको बताउनुभयो ।

यही सरस्वती पूजाका दिन मन्दिरको शिलान्यास गरिने र छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गरेर हिसाबकिताब सार्वजनिक गरिने समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । मन्दिरमा निर्माण समितिको पदाधिकारीहरुको नाम नराखिने समेत बुढाथोकीले प्रस्ताव गर्नुभएको छ ।

‘हामी काम गर्न चाहन्छौं, नाम लेखाउन र देखाउन चाहँदैनौं,’ उहाँले भन्नुभयो–‘सबै पूर्व विद्यार्थीको अपनत्व रहोस् भनेर पूर्व विद्यार्थीहरुबाट निर्माण गरिएको भन्ने मात्र उल्लेख गर्नेछौं ।’

समितिले पूर्व विद्यार्थीहरुलाई मन्दिर निर्माणमा आर्थिक सहयोग पुर्याउन अपिल गरेको छ ।