१५ वैशाख २०८१, शनिवार

अनुभूति

आँखाले खिचेको झापा कारागारभित्रको तस्विर

२० माघ २०८०, शनिवार
Image

२०८० माघ १९ गते विहानै मोवाइलको घण्टीसँगै ब्युँझिन पुगें । सन्दर्भ झापा कारागारमा माघ १६ गते सहिद दिवसमा छायाँकन भएको जेलभित्रको भिडियो उपलब्ध गराइदिनु थियो । ल्यापटपमा भएको ब्याकअपलाई हार्ड डिस्कमा अपलोड गरेर कारागारतर्फ लाग्दा विहानको १० वजेको थियो । समाजसेवा पनि गर्नु पर्छ भन्दै सबैभन्दा पहिला आफूलाई पढ्न भनेर उपहार पाएको केही किताव पनि साथमा लिएर मेरो पाइला अगाडि वढ्यो । जुन झापा कारागारमा रहेको बन्दी विकास पुस्तकालयमा काम लागोस् भन्ने मेरो उद्देश्य थियो । 

पुस्तकालयका सचिवजीको हातमा हात मिलाउँदै तीनवटा पुस्तक सप्रेम बुझाएँ । त्यसपछि कारागारभित्र पस्नको लागि कारागार प्रमुख र कारागारका आन्तरिक प्रशासनका मुखियाको अनुमति लिनको लागि अफिसतर्फ बढेँ । मोवाइलभित्र लान नमिल्ने भन्दै त्यहिं राखियो । कार्यालय प्रमुखले भित्र जाने अनुमति दिनु भयो र एक जना प्रहरी पनि सिभिल ड्रेसमा मेरो सुरक्षा साथै निगरानीको लागि खटाइदिनु भयो । मसँग मेरो छोरा पनि साथी गएको थियो । उसले पनि केहि सिकोस् र नयाँ ठाउँको अनुभव लिओस् भन्ने मेरो उद्देश्य थियो । हुनतः मेरो हार्डडिस्क उनीहरुले कपी गरेर फर्काइदिने भन्दै थिए तर त्योभित्र धेरै अन्य महत्वपूर्ण फाइल भएको हुनाले म मानिन । 


प्रहरीको अनुरोधमा २ वटा कार्ड घाँटीमा भिरेर हामी बावु छोरा जेलभित्र पस्यौं । पस्ने बित्तिकै मलाई नौलो संसारमा पुगेको अनुभूति भयो । सिरक डसना भुइँमा सुकाउँदै गरेको दृश्यमा पहिला दृष्टि पर्यो । अनि सचिबजीलाई सोधें– ‘किन यसरी राख्नु भएको ?’ चिसोले ओसिएर राती सुत्न गाह्रो हुन्छ भन्ने जवाफ उनको थियो । करिव १६०० कैदीबन्दी चार दिवारभित्र चारैतिर छरिएका देखिन्थे । सुनेको थिएँ जेल भनेको सुधार केन्द्र पनि हो । त्यसैले मेरो मनमा धेरै प्रश्न खेल्न थाले । आखिर किन मानिस परिवन्दमा पर्छन् ? किन अपराधका घटना हुन्छन् ? के साँच्चै सवै कैदीबन्दी दोषी हुन्छन् त ? यस्तै यस्तै कुरा मनमा खेलाउँदै एउटा सानो कोठामा राखेको कम्प्युटरसम्म मलाई लगियो अनि उनीहरुले चिया पिउन आग्रह गरे । चिनी कम गरेर ल्याइदिनु है भनें । मीठो चियाको चुस्कि मार्दै कम्प्युटरमा फाइल कपी गरिदिएँ । म चाहन्थेँ आफूसँग भएको केही ज्ञान उनीहरुलाई पनि बाँडु । त्यसैले फोटो भिडियो खिच्ने कला अनि, आफूलाई सकारात्मक राख्न डाक्टर योगी विकासानन्दबाट सिकेको केही कुरा उनीहरुलाई सुनाएँ । 

आज उनीहरुको त्यो भिडियो सबैजना वसेर एकैपटक प्रोजेक्टरमा हेर्ने दिन थियो । त्यसैले पनि म आफू त्यहाँ पुग्न जरुरी थियो । उनीहरु भन्थे–हाम्रो सबैभन्दा ठूलो चाड सहिद दिवस हो । यो हामीले मनाएको चाड कस्तो भयो भनेर उनीहरु आपसमा समीक्षा गर्दैथे । समीक्षा पनि हुने र भिडियो हेर्दा आज बेलुका चार दिवारभित्र हुटिङ हुन्छ भन्थे उनीहरु । आफुले गरेको काममा उनीहरुको अपेक्षा सुन्दा मलाई आफ्नो कामप्रति गर्व महसुस भयो । अव फर्किने बेला भयो अनि सबै दृश्य हेर्न खुल्दुली जाग्यो । 

आजै उनीहरुले मासु पकाएका रहेछन् । कोही मासुभात खाँदै थिए भने कोही क्यारेमबोर्ड खेल्दै थिए । कोही पुजाआजा गर्दै थिए कोही कपडा सिलाउँदै थिए । कोही गहना बनाउने काम गर्दै थिए । कोही कपाल काट्दै थिए । कोही फर्निचरको काम त  कोही बाँसको काम गर्दै र, कोही पढ्दै थिए । अर्थात जेलभित्र सारा संसारमा जे हुन्छ त्यहि हुँदै थियो । म उनीहरुको चालडाल र मप्रतिको संदिग्ध हेराइलाई नियाल्दै त्यहाँको अवस्था र स्थितिको अवलोकन गर्न ब्यस्त भएँ । सुत्ने ठाउँ चिसो भुई भए पनि सफा राखेको देखिन्थ्यो । भित्तामा टीभी चलिरहेको थियो । पुस्तकालयमा किताव मिलाएर राखिएको थियो । विभिन्न देवी देवताका मन्दिर मूर्ति साथै बिभिन्न धर्मावलम्बीले मान्ने आस्था समेत समेटिएको देखिन्थे । मन्दिर, मूर्ति, मस्जिद, गुम्बा, चर्च पनि त्यहाँ थिए । कैदीहरु गोराभन्दा काला रुप रंग भएका अलि बढी देखिन्थे । बलिष्ठ बाहु भएका मोटाघाटा देख्दै डरलाग्दा मानिसहरु पनि देखिन्थे । चार जात छत्तीस वर्ण सबै थिए । 

कोही कति भलादमी अनुहार परेका थिए कसरी गल्ति गरेर आइपुगे होलान् जस्तो लाग्यो । चाहे जे होस्, मेरा लागि उनीहरु मानव थिए । धेरै त नेपाली नागरिक थिए । म पाहुना थिएँ । उनीहरु मेरो लागि सबै समान थिए । सबै कानुनको पालना गर्दै जीवन सुधार्ने क्रममा थिए । जेलभित्र सबैभन्दा मुख्य समस्या शौचालयको रहेछ । चुकुल विनाको १० वटा शौचालय उनीहरुका लागि पर्याप्त भए झैँ लाग्दैन थियो । त्यसबाट निस्कने फोहोरको निकास पनि राम्रो नभएको कारण वातावरण दुर्गन्धित थियो । सायद यो पनि सजायको एउटा पाटो हो । गल्ति गर्नु अपराध हो तर प्रायश्चित गरेर पुन गल्ति नगर्नु चै महानता पनि हो । त्यसैले यो संसारमा जे हुन्छ राम्रोको लागि हुन्छ भनेर मन बुझाउनु पर्ने रहेछ । हामी त पात्र मात्र भएर आएको होला नि भावीले लेखेको आखिर कहाँ टर्छ र झैं लाग्यो । यी सबै कैदीका पनि आमा, बुवा, दाजु, भाइ, इष्ट, मित्र सबै होलान् । 

देशमा रोजगारको ब्यवस्था राम्रो नभएको, राज्य जनताप्रति प्रभावकारी ढंगले उत्तरदायी हुन नसकेकै कारणले चोरी, डकैती, हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध हुने गर्छन् । यसका लागि ती कैदी बन्दी मात्र दोषी छैनन् । जेल भित्रका कुनै कोठाको ढोकामा चुकुल छैन, ट्वाइलेटमा समेत चुकुल रहेनछ । तर पनि यिनीहरु अनुशासित भएका छन् । नियम कानून मिचेर जेल परेका उनीहरु त्यहाँको नियम कानून मिच्ने कल्पना समेत गर्न सक्दैनन् । नियमनकारी निकायले सहि ढंगले काम गर्न सके जेलभित्र मात्र होइन जेल बाहिर पनि मानिसहरू अनुशासित हुन्थे होला । हजारौंलाई सहिद वनाउनेहरु  प्रधानमन्त्रीको कुर्सीमा छन् । कठै मेरो देश कठै मेरो कानुन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


लेखकको बारेमा
Image
बिजय बराल

टेलिभिजन पत्रकारितामा रुचि राख्नुहुने बिर्तामोड निवासी पत्रकार बिजय बराल बिञ्जु मिडिया कर्नरको सम्पादक हुनुहुन्छ ।