१९ वैशाख २०८१, बुधवार

पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य बस्तु निर्यात

२१ माघ २०८०, आइतवार
Image

झापा, २१ माघ । चालु आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टा हुँदै रु. तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडिबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कार्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बंगलादेश लगायतका मुलुकमा निर्यात भएको हो ।

यस अवधिमा सबैभन्दा बढी रु. एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैची, अमलिसो, प्लाइउड र अदुवा समेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

कार्यालयको तथ्यांक अनुसार रु. ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार २३७ मेट्रिक टन अलैची, रु. ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजार १७९ मेट्रिक टन प्लाइउड, रु. ३० करोड ४६ लाख ४० हजार मूल्यको दुई हजार ३८० मेट्रिक टन अदुवा र रु. १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको एक हजार १५१ मेट्रिक टन अमलिसो भारततर्फ निर्यात भएको छ ।

तरकारी बस्तुमा बन्दा कोभी र मुला भारत निर्यात हुने गरेको छ भने मसुरो दाल समेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

उक्त तीन महिनाको अवधिमा रु. एक करोड ७२ लाख ६२ हजार मूल्य बराबरको १२६ मेट्रिक टन मसुरो दाल, रु. २० लाख ४८ हजार मूल्य बराबरको १२८ मेट्रिक टन बन्दाकोभी र रु. २९ हजार मूल्य बराबरको करीव दुई मेट्रिक टन मुला भारत निर्यात भएको कार्यालयले जनाएको छ ।

निर्यात बस्तुमा जडिबुटीतर्फ चिराइतो, पिपला, अमला, मजिठो, सुगन्ध कोकिल, धुपी, पदमचाल र चुत्रो रहेको छ । यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ । 

कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा रु. ९४ लाख मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, रु. एक लाख छ हजार मूल्य बराबरको एक मेट्रिक टन पिपला, रु. दुई लाख ९५ हजार मूल्य बराबरको अढाई मेट्रिक टन अमला, रु. दुई लाख ५० हजार मूल्य बराबरको दुई मेट्रिक टन मजिठो, रु. एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, रु. तीन लाख ५० हजार मूल्य बराबरको १० मेट्रिक टन धुपी, रु. छ लाख ९० हजार मूल्य बराबरको छ मेट्रिक टन पदमचाल र रु. ३९ हजार मूल्य बराबरको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

आव २०८०÷०८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडिबुटी, प्लाइडका सामान, अम्रिसो लगायतका कूल रु. पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बंगलादेश लगायतका मुलुकमा निर्यात भएको थियो ।