२० वैशाख २०८१, बिहिवार

“पीडितको भावना अनुरुप टीआरसी विधेयक पारित हुनुपर्छ”

२२ माघ २०८०, सोमवार
Image

झापा, २२ माघ  संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेले बताउनुभएको छ ।

आज प्रेस चौतारी झापाले विर्तामोडस्थित नेत्रपार्कमा आयोजना गरेको २६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले बिधेयकमा मावनताविरुद्धका जघन्य अपराधमा छुट दिन नहुने धारणा राख्नुभयो ।

शान्ति प्रक्रियासँग जोडिएको यस्तो सम्वेदनशील विषयमा सरकारले बहुमतको आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न सुझाव दिनु भएको छ । “पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन,” उहाँले भन्नुभयो–“संक्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान पुर्याउनु पर्छ ।” 

सर्वोच्च अदालतको फैसला अनुरुप पीडितमैत्री विधेयक ल्याउँदा सरकारले सबैको समर्थन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो यो । बहुमतको नाममा मानव अधिकार हनन गर्न पाइँदैन ।”

प्रेस चौतारी झापाले स्थापना दिवसको अवसरमा संस्थाका पूर्व अध्यक्ष तोयानाथ दाहाल उपेक्षितलाई सम्मान गरेको छ । संस्थाले विगत बर्षदेखि प्रेस चौतारीको पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको छ । सम्मानसहित उपेक्षितलाई नगद रु. २५ हजार समेत प्रदान गरिएको छ । 

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेकपा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, जिल्ला सचिव शिव ढुंगेल, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष विमल लामिछाने, महासंघ झापाका सचिव डिकेस लामा, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमलगायतले चौथो अंगले पत्रकारिताको माध्यमबाट समाजको रुपान्तरण गर्न र सरकारदाई बाटो बिराउन नदिन खबरदारी गर्दै बताउनु भएको थियो ।