२६ वैशाख २०८१, बुधवार

होटल र घरधनी विवाद

मेचीनगरका नेता भन्छन्–‘भाडामा बसेर घर हडप्न खोजियो’

२९ माघ २०८०, सोमवार
Image

मेचीनगर, २९ माघ । मेचीनगरका राजनीतिक तथा व्यावसायिक क्षेत्रका अगुवाले हिकोला हेरिटेजका सञ्चालक देबीभक्त श्रेष्ठलाई भाडामा बसेर घर नहडप्न आग्रह गरेका छन् । 

मेचीनगर–६ काँकरभिट्टास्थित हिकोला हेरिटेज होटलको घरधनी र भाडामा बसेका श्रेष्ठबीच विवाद भएपछि मेचीनगरका राजनीतिक तथा व्यावसायिक अगुवाहरुले आज पत्रकार सम्मेलनमार्फत उक्त आग्रह गरेका हुन् ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले होटलका लागि घर भाडामा लिएका श्रेष्ठले जालझेल गरेर सोझो घरधनी परिवारबाट घर नै हडप्न खोजेको आरोप लगाउनुभयो ।

‘भाडा पनि नतिर्ने, अनि घर खाली गर्नुहोस् भन्दा पनि नमान्ने तरीका एकदम बेइमानी हो,’ अध्यक्ष प्रसाईले भन्नुभयो–‘बैंकको ऋण तिर्न नसकेर बिचरा घरधनी चुर्लुम्मै डुबिसक्नु भएको रहेछ । भाडा तिर्नुहोस्, बैंकको ऋण तिर्छु भन्दा आलटाल गर्ने कुरा ठिक भएन ।’

होटलधनी श्रेष्ठले बैंकले लिलाममा घर उठाएपछि आफै सकारेर हडप्ने गलत मनसायले घरधनीसँग विवाद र सहमतिहरु उल्लंघन गरिरहेको प्रसाईको आरोप छ ।

संघका पूर्व अध्यक्ष बिजय डालमियाले होटल सञ्चालन अघिदेखि नै श्रेष्ठले घरधनीलाई सोझो देखेर विवाद गरिरहेको दावी गरेका छन् । ऋषिराज तिम्सिनाले संघको नेतृत्व सम्हालेका बेला आफुले संयोजन गरेर विभिन्न पटक विवाद मिलाए पनि श्रेष्ठले सहमति उल्लंघन गर्दै आएको डालमियाको भनाई छ ।

घरधनी विष्णुमाया श्रेष्ठले आफ्नो घर हडप्ने षडयन्त्र भइरहेको चाल पाएपछि सम्झौता भंग गरी घर खाली गराइपाउँ भनी वडा कार्यालय, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघमा निवेदन दिएको डालमियाले बताए । 

जिल्ला प्रशासन कार्यालय र मेचीनगर नगरपालिकाको आग्रह बमोजिम मेची उद्योग वाणिज्य संघले विवाद निरुपणका लागि अनेक प्रयत्न गर्दा समेत श्रेष्ठकै कारण समस्या झन् चर्किएको उनले दावी गरे ।

माघ २६ र २८ गते होटलमा भएको घटना समेत होटल सञ्चालकहरुको उदण्ड व्यवहारकै कारण निम्तिएको डालमियाको दावी छ ।

नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले सम्झौता भंग गर्न सकिने कानूनी आधार बमोजिम घरखाली गरेर सहयोग पुर्याउन होटल सञ्चालक श्रेष्ठलाई आग्रह गरेका छन् । उनका अनुसार दुबै पक्षबीच पटकपटक भएको छलफलमा होटल चलाउँदा नयाँ संरचनामा गरेको लगानी वापतको रु. एक करोड ६० लाख लिएर घर खाली गरिदिनु नै अहिलेको समाधान हो ।

घरधनीले नेपाल बैंक लि.बाट लिएको ऋण तिर्न नसक्दा लिलामीमा चढिसकेको जनाउँदै घिमिरेले लिलामबाट बचाउन घरधनीले घर बेच्न पाउनु पर्ने बताए । ‘घर लिलाममा चढ्न लागिसक्यो,’ घिमिरेले भने–‘घर किन्नुहोस् भन्दा नमान्ने, अनि घर खाली गरिदिनुहोस् अर्कैलाई बेचेर ऋण तिर्छु भन्न पनि घरधनीले नपाउने ? यो त अन्याय भयो नि ।’

नेकपा माओबादी केन्द्रका नेता माधव अर्यालले दुबै पक्षका लेखा अधिकृत र इन्जिनियर राखेर हिसाबकिताब गर्दा होटलमा श्रेष्ठले रु. एक करोड ६० लाख लगानी गरेको ठहरिएको छ । त्यो हिसाब बुझेर भाडावालले घर खाली गरिदिनु पर्छ । अहिलेको समाधान यही हो ।’

घरधनी विष्णुमाया श्रेष्ठले घर लिलाम भएर सडकमा पुग्नबाट बचाउन आग्रह गर्दै न्यायको अपिल गरेकी छन् ।

‘मलाई मेरो घर फिर्ता चाहियो,’ उनले पत्रकार सम्मेलनमा भनिन्–‘रिनै रिनमा डुबेका छौं । चार वर्षमा एक वर्षको मात्र भाडा पाएका छौं । घर किन्नु कि छाडिदिनु भन्दा होटलवाला मानेनन् ।’

मेचीनगर नगरपालिकाको न्यायिक समितिले विवाद समाधानका लागि घरमा भाडामा बसेका श्रेष्ठले गरेको लगानीको मूल्यांकन गर्न मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा न्यायिक समितिका सदस्य कुन्दन निरौला, माधव अर्याल, डिल्ली घिमिरे, सुरेन्द्र बुढाथोकी, होटल व्यवसायी संघका प्रतिनिधिसहितको समिति गठन गरेको थियो ।

सोही आधारमा आफुहरुले होटल व्यवसायी श्रेष्ठ र घरधनीबीच विवाद समाधानका लागि प्रयास गरेको पत्रकार सम्मेलनमा बोलेका नेताहरुले बताएका छन् ।