२६ वैशाख २०८१, बुधवार

कचनकवलमा हात्तीबाट जोगिन बसाइ सर्ने बढे

२ फागुन २०८०, बुधवार
Image

झापा, २ फागुन  कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाई सर्नेको संख्या बढ्न थालेको छ । 

दैनिक आउने जंगली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीयवासी बसाई सर्न थालेका हुन् । पालिकामा चार बर्षको अवधिमा एक हजार ६०८ घर परिवार बसाई सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

कचनकवल गाउँपालिका–१ घेराबारी निवासी ५५ बर्षीय सीता सुवेदीले हात्तीले पटक पटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाई सर्न बाध्य भएको बताउनुभयो । हाल उहाँको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबाली समेत खाइदिएपछि कमल गाउँपालिका–६ मंगलबारे डेरा गरेर बसेको छ । 

“दुःख गरेर घर बनायो बर्ष दिन नपुग्दै हात्तीले भत्काइदिन्छ”, उहाँले भन्नुभयो, “धेरैपटक घर भत्काएपछि हामीलाई पनि कुन दिन सुतेकै ठाउँमा मार्छ होला भन्ने भयो । अब नहुने रहेछ भन्ने लागेर ज्यान जोगाउनकै लागि बसाई सर्यौं ।” चार दशकदेखि सो स्थानमा बसोबास गर्दै आएका सुवेदी परिवार हात्तीबाट ज्यान जोगाउन बसाई सरेको हो । 

उहाँका अनुसार दिनभर जलथल जंगलमा बस्ने जंगली हात्ती साँझ नपर्दै दैनिक गाउँ पसेर आतंक मच्चाउन थालेपछि बाध्य भएर सुवेदी परिवारलगायत अन्य स्थानीयवासी पनि सुरक्षित स्थानमा बसाई सर्न थालेका हुन् ।

हाल कचनकवल गाउँपालिकाका वडा नम्बर १, २ र ३ बाट बसाई सर्नेको संख्या बढिरहेको छ । पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले प्रत्येक बर्ष अन्य स्थानबाट आउनेको तुलनामा तेब्बर संख्या बसाई सरेर अन्यत्र गइरहेको जानकारी दिनुभयो । उहाँले चार बर्षको अवधिमा अन्य स्थानबाट बसाई सरेर आउनेको संख्या ७५९ रहेको र जानेको संख्या एक हजार ६०८ रहेको बताउनुभयो ।

उहाँले वि.संं २०७७ मा ४२६, २०७८ सालमा ४४६, २०७९ मा ४३० र २०८० को हालसम्ममा ३०६ परिवार पालिकाबाट बसाई सरेर अन्य स्थानमा गएको जानकारी दिनुभयो । यस क्षेत्रबाट विर्तामोड, दमक, चारआली, बुधबारलगायतका क्षेत्रमा बसाई सरेर गएका छन् ।