२५ वैशाख २०८१, मङ्गलवार

झापामा दश बर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

३ फागुन २०८०, बिहिवार
Image

झापा, ३ फागुन । एक दशकको अवधिमा झापा जिल्लामा संघीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेको नदीहरुमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । 

आर्थिक बर्ष २०६९/७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रम अन्तरगत १२० मिटरसम्म लाम्बाई भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिनुभयो । 

झोलुङ्गे पुल निर्माणका लागि संघीय र प्रदेश सरकारबाट स्थानीय पालिकाहरुमा बजेट आउने र निर्माणका कार्यको प्राविधिक र सामाजिक सहयोग स्थानीय सहारा नेपालले गर्दै आएको नेपालले बताउनुभयो । 

झापा जिल्लामा कनकाई, बिरिङ, निन्दा, मेची, हडिया, रतुवा, देउनिया, फुलबासा, टिमाई लगायतका दर्जनौं साना र ठूला नदी रहेका छन् । पक्की पुल नभएको र पुराना काठका पुल जीर्ण भएको स्थानमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको छ । 

गत आर्थिक बर्षमा आठवटा झोलुङ्गे पुल निर्माण भएका र चालु आर्थिक बर्षको छ महिनामा तीन वटाको निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयो । आठ वटा पुलको क्रमागत रुपमा निर्माण भइरहेको छ ।

चालू आर्थिक वर्षमा थप चार स्थानमा झोलुङ्गे पुल निर्माणको प्रारम्भिक कार्य अघि बढाइएको र २६ वटा पुल निर्माणका लागि सर्भे गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सरकारले गरीबी निवारणमा टेवा पुर्याउने, सामाजिक तथा आर्थिक स्रोत एवम् अवसरहरुमा स्थानीयको पहुँच बढाउने उद्देश्यले झोलुङ्गे पुल निर्माण कार्यलाई देशभर नै तीब्र रुपमा अघि बढाएको छ । 

झोलुङ्गे पुल कार्यक्रमले जनाए अनुसार १२० मिटरसम्मका पुल उपभोक्ता समितिमार्फत र त्योभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गरिएको छ । स्थानीय पालिका र उपभोक्ता समितिमार्फत बनाइने पुलको प्राविधिक सहयोगमा सहारा नेपालले सहयोग गर्दै आएको हो । 

संघीय योजना अन्तरगत झोलुङ्गे पुल निर्माणका लागि लाग्ने कूल बजेटमा केन्द्रीय अनुदान ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत र समुदायको श्रमदान २ प्रतिशत सहभागिता रहने गरेको गरेको छ । 

तर, प्रदेश सरकारको योजना अन्तरगतका झोलुङ्गे पुल निर्माणमा सरकारको ९८ प्रतिशत र समुदायको जनश्रमदान दुई प्रतिशत रहने व्यवस्था गरिएको छ । 

चालु आर्थिक बर्षमा मेचीनगर नगरपालिका–१४ को हडिया खोला झोलुङ्गे पुल, अर्जुनधारा नगरपालिका–२ मा घिमिरे टोल गाँजाबारी झोलुङ्गे पुल र शिवसताक्षी नपा–१० मा नुनमाटी खोला दोमुखा झोलुङ्गे पुल निर्माण गरिएको छ । 

शिवसताक्षी नगरपालिका–१ को धरमपुर ट्रस पुल, विर्तामोड नगरपालिका–७ मा देउनिया खोला पुल, कचनकवल गाउँपालिका–१ मा भेलामुनी मरलवस्ती पुल, झापा गाउँपालिका–१ सितुमारी मिलनवस्ती पुल, अर्जनधारा नगरपालिका–२ मा सहकाले ट्रस पुल, विर्तामोड–४ मा विर्तामोड ट्रस पुल, कनकाई नगरपालिका–८ मा घाग्राखोला ट्रस पुल र गौरादह नगरपालिका–८ को गेउरिया झोलुङ्गे पुल गत बर्ष निर्माण गरिएको छ ।

स्थानीय राजनीतिक दलको खिचातानीका कारण कतिपय अत्यावश्यक स्थानमा झोलुङ्गे पुल अझै बन्न सकेका छैनन् । “पुलको आवश्यकता एकातिर हुन्छ”, कार्यक्रम संयोजक नेपालले भन्नुभयो, “राजनीतिक दबाबले अर्कै ठाउँको छनोट भइरहेको हुन्छ ।” उहाँले विकास निर्माणका काम राजनीतिक हस्तक्षेपका आधारमा नभएर आवश्यकताका आधारमा हुँदा राम्रो हुने बताउनुभयो ।

कतिपय झोलुङ्गे पुल निर्धारित समयमा बन्न सकेका छैनन् । निर्माण सामाग्रीको अभाव, सम्बन्धित निकायबाट समयमै फेव्रिकेशसन नहुँदा कठिनाई हुने, दक्ष मिस्त्री तथा कामदारको अभावलगायतका कारणले ढिलो समेत हुने गरेको उहाँको भनाई छ ।