१७ वैशाख २०८१, सोमवार

बाहुनडाँगीबासीले मुख्यमन्त्रीसँग मागे बजेट र कार्यक्रम

९ फागुन २०८०, बुधवार
Image

बाहुनडाँगी, ९ फागुन । हात्तीमैत्री पदयात्रा सुरु गरेका मुख्यमन्त्री केदार कार्कीलाई झापाका हात्तीपीडित बाहुनडाँगीबासीले ११ बुँदे माग पेश गरेका छन् ।

मुख्यमन्त्री कार्की पदयात्रा उद्घाटनका लागि आज बाहुनडाँगी आएका बेला बाहुनडाँगीबासीले आफ्ना मागहरु समेटिएको ज्ञापन पत्र बुझाएका हुन् ।

नागरिक समाजका अध्यक्ष एवम् बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष निलकण्ठ तिवारीले मुख्यमन्त्री कार्कीलाई मागपत्र बुझाउँदै माग पूरा गर्न प्रदेश सरकार र स्यवम् मुख्यमन्त्री गम्भीर बन्नु पर्ने बताउनुभयो ।

हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा लगाइएको सौर्य विद्युतीय तारबार मर्मत, सम्भार र संरक्षणका लागि नियमित बजेटको व्यवस्था गरिदिनु पर्ने बाहुनडाँगीबासीको पहिलो माग छ ।

यसैगरी, सीमामा लगाइएको तारबार छेउको पहुँच मार्गलाई स्तरोन्नति गर्न बिनियोजन गरिएको रु. २५ लाख बजेट अपुग भएकाले थप बजेटको व्यवस्था शीघ्र गरिदिनु हुन र हात्तीलाई बासस्थानमा फर्काउन स्कर्टिङ भेहिकलको व्यवस्था गरिदिन उनीहरुको दोस्रो माग रहेको छ ।

हात्ती प्रभावित बस्तीमा चम्किलो बत्तीको व्यवस्था गर्न, हात्तीले नखाने बनस्पति रोप्नका लागि सामुदायिक बनहरुलाई समन्वय गर्न, बाली लगायतको क्षतिपूर्तिका लागि बिमाको पहल गरिदिन, चिया लगायतका बैकल्पिक बालीको प्रवर्धन र बजारिकरणको व्यवस्था गरिदिन, सामूहिक खेतीका लागि बजेट व्यवस्था गरिदिन, जनताको तटबन्धन कार्यक्रमलाई निरन्तरता दिन, ऐलानी जग्गामा भएको क्षतिको समेत राहत उपलब्ध गराउन, सौर्य तारबार र हात्तीलाई बासस्थानमा फर्काउन खटिने जनशक्तिलाई पारिश्रमिकको व्यवस्था गर्न, एक्ले हात्तीहरुलाई रेडियो कलर लगाउने र आवश्यक परे स्थानान्तरण गर्ने व्यवस्था मिलाउन र मेचीनगर–४ लाई मानव–हात्ती सहअस्तित्वको असल पाठशालाको रुपमा नमुना गाउँ बनाउन बाहुनडाँगी बासीले माग गरेका छन् ।

उक्त मागपत्रमा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की, नेपाली कांग्रेसका सभापति सागर कार्की, नेकपा एमालेका अध्यक्ष तीर्थराज कार्की, नेकपा माओबादी केन्द्रका अध्यक्ष खगेन्द्र रामुदामु, रास्वपाका अध्यक्ष हस्तबहादुर खड्का र राप्रपा अध्यक्ष चन्द्रप्रसाद सुबेदीको हस्ताक्षर रहेको छ ।

यसैगरी, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, नेकां. जिल्ला प्रतिनिधि निरज घिमिरे, शुभ चिया किसान सहकारीका अध्यक्ष रमेश दाहाल, समाजसेवीहरु गोविन्द न्यौपाने, दिपेन थापा, हरिप्रसाद उप्रेती र आरआरटी संयोजक न्यूटन कार्कीले मागपत्रमा हस्ताक्षर गर्नु भएको छ ।