१६ वैशाख २०८१, आइतवार

यसरी सुरु भयो मुख्यमन्त्रीको पैदलयात्रा (हेर्नुहोस् फोटो)

९ फागुन २०८०, बुधवार
Image

बाहुनडाँगी, ९ फागुन । आज विहान बाहुनडाँगी बजारमा स्थानीयबासी र पाहुनाहरुको चलहपहल सँधैभन्दा ज्यादा थियो । कारण थियो–मुख्यमन्त्री केदार कार्कीको पैदलयात्रा ।

विहान ७ बजे नै मुख्यमन्त्री कार्की बजारस्थित वडा कार्यालयमा पुगे । स्थानीयसँग अनौपचारिक लामै गफगाफ गरे । वडाध्यक्ष अर्जुन कार्कीलाई मुख्यमन्त्री र त्यसपछि आएका मन्त्री, सांसद्, सुरक्षा निकायका अधिकारी लगायतको स्वागत गर्न भ्याइ नभ्याई थियो । 

संघीय सरकारका बन तथा वातावरण मन्त्री मौसमी प्रतिकूलताका कारण काठमाडौंको विमानस्थलमा रोकिए पछि उनलाई वडा कार्यालयमै पौने १० बजेसम्म कुर्ने काम भयो । केन्द्रका बन मन्त्री नआएपछि प्रदेश सरकारका चार जना विभागीय मन्त्री र सांसद्हरुलाई लिएर मुख्यमन्त्री कार्की नाकाको प्रसादगौडा गए । जहाँ हात्ती प्रभावित क्षेत्रको मुख्यमन्त्रीको पदयात्रा उद्घाटन १० बजेपछि भयो । 

मुख्यमन्त्री कार्की र अतिथिहरु मेची बगरमा टाँगिएको टेन्टमा पुग्दा त्यहाँ बस्नका लागि परालको पिरा राखिएको थियो । सबै जना त्यही पिरामा बसे । यस्तो नौलो व्यवस्था मिलाएका थिए वडाध्यक्ष अर्जुन कार्कीले ।

स्वागतका लागि दुई जना सारंगीबादक गन्धर्वलाई ल्याइएको थियो । उनीहरुले मान्छे र हात्ती मिलेर बाँच्नु पर्छ भन्ने सन्देश दिने सुमधुर गीत गाए । गीतलाई मुख्यमन्त्री कार्कीले गहिरोसँग ध्यान दिएर सुने ।

कार्यक्रममा एकजना अतिथि थिइन् हात्तीको आक्रमणमा परिवारका सदस्य गुमाएकी वृद्धा जगमाया थापा । दुई मिनट मौनधारण गरिएको थियो । कार्यक्रम चलिरहँदा आयोजकले मञ्चमै ल्याएका थिए खाजा । केराको पातमा आलु र तरुल थियो खाजा । मकैको खोसेलामा ल्याइएको थियो नुन खुर्सानीको अचार । अतिथिले स्वाद मानेर खाए खाजा ।

मन्तब्य दिएका थिए वडाध्यक्ष अर्जुन कार्की, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष सागर कार्की, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी, प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, प्रदेश सांसद् सबिना बजगाई, प्रदेशका बन मन्त्री गणेश उप्रेती र मुख्यमन्त्री केदार कार्कीले ।