१६ वैशाख २०८१, आइतवार

दुईवटा कार्की मिलेर ‘हात्ती करिडर’ बनाउन लागेको स्थानीयबासीको शंका

९ फागुन २०८०, बुधवार
Image

बाहुनडाँगी, ९ फागुन । झापामा हात्ती नियन्त्रण र बन्यजन्तु संरक्षणको कुरा उठ्ने वित्तिकै पहिलो नम्बरमा सम्झिइने नाम हो अर्जुन कार्की । उनी अहिले मेचीनगर वडा नं. ४ को वडाध्यक्ष छन् ।

सीमा पार गरेर भारतबाट दर्जनौंको संख्यामा बाहुनडाँगी पस्ने जंगली हात्तीका कारण ठूलो जनधनको क्षति हुन थालेपछि एक दशक अघिसम्म बाहुनडाँगीमा हात्तीलाई गोली हानेर मार्नुपर्ने चर्को माग उठ्थ्यो ।

सारा गाउँले गोली हान्ने पक्षमा हुँदा पनि प्रकृति संरक्षण अभियन्ता युवा अर्जुन कार्की हात्तीलाई मारेर समस्या समाधान नहुने वकालत गर्दथे । कार्की उसबेला समाजमा एक्लिएका थिए । हात्ती जोगाउनु पर्छ भनेकै आरोपमा उनलाई एकपटक सार्वजनिक कार्यक्रममा हुहलहुज्जत र आक्रमण प्रयास पनि भएको थियो ।

तर, उनले गाउँलेलाई मानव र हात्ती दुबै बच्ने उपाय खोज्नु पर्नेमा कन्भिन्स गर्दै गए । उनी अन्तत ः यही मुद्धा उठाएर वडाध्यक्षमा निर्वाचित भए । सहअस्तित्वका आधारमा हात्तीको संरक्षण हुनुपर्ने मुद्धा उनले छाडेका छैनन् । 

उनकै पहलमा अहिले बाली बिमा लगायतका नौला कार्यक्रम सुरु भएका छन् । ‘घरलौरी, तोरी माहुरी’ जस्ता उत्पादनमूलक कार्यक्रम सुरु भएका छन् । स्थानीयबासी अचेल हात्ती लखेट्न जान छाडेका छन् । लखेट्न नआएपछि हात्तीबाट मानवीय मृत्यु बाहुनडाँगीमा केही वर्षयता शून्यमा झरेको छ । 

तैपनि वडाध्यक्ष कार्कीमाथि अझै स्थानीयबासीले शंका गर्न भने छाडेका छैनन् । बुधवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बाहुनडाँगीबाट हात्तीमैत्री पदयात्रा सुरु गर्दा सशंकित स्थानीयबासीले ‘हात्ती करिडर’ बनाउन वडाध्यक्ष र मुख्यमन्त्री कार्कीबन्धुबीच साँठगाँठ रहेको अनुमान लगाए ।

मुख्यमन्त्रीले वडाध्यक्षको बहकाउमा लागेर बाहुनडाँगीबाट उदयपुरसम्म बस्ती उठाएर हात्ती हिँड्ने करिडर (जैविक मार्ग) बनाउँदैछन् भन्ने हल्ला बाहुनडाँगीका गाउँभरि फैलियो । राजनीतिक दलका नेता, नागरिक समाज, मानव हात्ती द्वन्द्व व्यवस्थापन समिति र हात्ती पीडितहरु मुख्यमन्त्रीको पदयात्राप्रति सुरुमा सकारात्मक हुन सकेनन् । 

उद्घाटन कार्यक्रममा हात्ती करिडर बनाउन लागेको होइन भनेर मुख्यमन्त्री र वडाध्यक्ष कार्कीले प्रष्टिकरण दिनु पर्यो । बुधवार विहान मुख्यमन्त्री कार्कीले बाहुनडाँगीको सर्वदलीय टोली र सरोकारवालासँग अलग्गै छलफल चलाए । त्यहाँ पनि मुख्यमन्त्री कार्कीले हात्ती करिडर बनाउन लागेको होइन भन्ने बताए ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले शुभकामना मन्तब्यका क्रममा भने–‘हात्ती करिडर बन्ने हल्लाले बाहुनडाँगीबासी चिन्तित छौं । यति ठूलो जनावर हामी पाल्न सक्दैनौं ।’

उनको आशंकाको सुइरो वडाध्यक्ष र मुख्यमन्त्रीप्रति लक्षित थियो । शंका प्रकट भए लगत्तै मन्तब्यका लागि मञ्चमा पुगेका वडाध्यक्ष कार्कीले भने–‘हामी बस्ती उठाएर हात्ती पाल्ने वडाध्यक्ष होइनौं ।’ उनले फूल टिप्न खोज्नेले काँडासँग संघर्ष गर्न डराउन नहुने बिम्बात्मक भाषण गरे ।

बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीले ११ बुँदे मागपत्र मुख्यमन्त्री कार्कीलाई दिदै भने–‘हात्तीको पीडा सहँदा सहँदा हैरान भइसकेका बाहुनडाँगीबासी अब चाहिँ केही समाधान हुन्छ कि भन्ने आशाले यहाँ भेला भएका छौं ।’

मन्तब्यको आफ्नो पालोमा मुख्यमन्त्री कार्कीले हात्ती करिडर बनाउने कुनै योजना नभएकोमा आश्वस्त पार्ने भरमग्दुर कोशिस गरे । 

उनले भने–‘मुख्यमन्त्री जता जता हिँड्छन्, उता उता हात्ती छिराउने हो कि भन्ने हल्ला फैलिएको रहेछ । मान्छे हिँड्ने रोड छैन, हात्ती हिँडाउने रोड बनाउने भयो भन्ने पनि भ्रम फैलिएको रहेछ ।’ 

मुख्यमन्त्री कार्कीले हात्तीबाट कसरी मानव वस्तीलाई बचाउन सकिन्छ र कसरी उनीहरुको बाली जोगाउन सकिन्छ भनेर पीडितहरुको भावना बुझ्न आफु पदयात्रामा निस्किएको बताए । 

उनले बाहुनडाँगीको सीमामा लगाइएको तारबारलाई बजेट दिने र क्षति भएको बालीको शतप्रतिशत क्षतिपूर्ति दिलाउने बाचा गरे ।

प्रदेश बन मन्त्रालयका सहसचिव विशाल घिमिरेले हात्ती करिडर बनाउने सरकारको कुनै योजना नभएको स्पष्ट पारेका छन् । मानवको जिउधनको सुरक्षा र हात्तीको संरक्षण कसरी गर्दा राम्रो हुन्छ भनेर हात्ती प्रभावित बासिन्दाको सुझाव संकलनका लागि अध्ययन गर्न भनेर प्रदेशले रु. ४० लाख बजेट बिनियोजन गरेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री कार्कीको पदयात्रा त्यही अध्ययनका लागि भएको बताइएको छ । हात्ती हिँड्ने जैविक मार्ग पहिल्याउँदै कार्कीको पदयात्रा बढ्ने भएको छ । पदयात्रामा विज्ञहरुको टोली पनि सहभागी छ । प्रदेश सरकारको कार्यकारी प्रमुख नै यसरी हात्ती पीडितको आवाज सुन्न पदयात्रामा हिँडेको यो पहिलो पटक हो ।