२१ वैशाख २०८१, शुक्रवार

झापाका रास्वपा नेता सुस्केरालाई सहकारी अध्यक्षको धम्की

१० फागुन २०८०, बिहिवार
Image

झापा, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी झापा–४ का सभापति शम्भु सुस्केरालाई सहकारीकर्मी सुमन खनालले धम्क्याएका छन् ।

धम्क्याउने खनाल शिवसताक्षी–३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरेको विषयमा रास्वपा नेता सुस्केराले भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि आक्रोशित खनालले फागुन ८ गते फोनबाट धम्क्याएका हुन् ।

‘महँगो पर्ला, दुई चार वर्षपछि भए पनि चुक्ता गर्छु तसँग,’ सहकारीका अध्यक्ष खनालले सुस्केरालाई धम्क्याउँदै फोनमा भनेका छन्–‘मेरो आफ्नै तरिका छ, जे पनि हुन्छ.....।’ धम्की दिएको अडियो रेकर्ड सुस्केराले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन् ।

खनाल अध्यक्ष रहेको सहकारीले सर्वसाधारणको रु. एक करोड ६३ लाख बचत रकम फिर्ता गर्न नसकेको सुस्केराले बताए । उनले पीडित भनिएका सर्वसाधारणसँग कुराकानी गरेर भिडियो बनाई सामाजिक सञ्जालमा हाल्ने गरेका थिए । 

यसैबीच, रास्वपा झापाका संयोजक उमेश खरेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्तालाई धम्क्याउने खनालमाथि कार्वाहीको माग गरेका छन् । खरेलले धम्की दिने कार्यको निन्दा पनि गरेका छन् ।

‘समस्या समाधान गर्नुको साटो बचतकर्ता र अभियन्तालाई गालीगलौज गर्ने र जे पनि गर्छु भनी धाकधम्की दिनु बिचलित र आपराधिक मानसिकता बाहेक केही होइन,’ विज्ञप्तिमा भनिएको छ–‘सार्वजनिक रुपमा क्षमायाचना गरी समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं ।’