२५ वैशाख २०८१, मङ्गलवार

राजदुत–मन्त्रीसँग प्लाइउड निर्यात र पर्यटकका विषयमा छलफल

११ फागुन २०८०, शुक्रवार
Image

मेचीनगर, ११ फागुन । भारतले यहि फागुन १६ गतेदेखि प्लाइउड निर्यातमा अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसआइ) अनिवार्य लागु गर्ने भएपछि नेपालका उद्योगी–व्यासायीका नेताहरु नयाँदिल्ली गएका छन् ।

केहि दिनअघि नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरे, पूर्व अध्यक्ष देवानन्द सरावगी, उपाध्यक्ष मनोज चित्लेङ्गी र मेची उद्याग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई दिल्ली गएर भारतका लागि नेपालका राजदुत शंकरनाथ शर्मालाई भेटेर सो विषयमा दुःख व्यक्त गरेका हुन् ।

राजदुत शर्माले उद्योगी–व्यासायीका नेताहरुलाई आइएसआइका विषयमा भारत र नेपाल सरकारलाई सहजताका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

राजदुत शर्मालाई भेटेपछि उद्योगी–व्यासायीको टोली सोझै काठमाडौँ गएको थियो । उद्योगी–व्यासायीको टोलीले परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेको थियो ।

परराष्ट्र मन्त्री साउदसँग व्यासायीको टोलीले प्लाइउडको समस्याका साथै पूर्वी काँकरभिट्टा नाकाबाट पर्यटकलाई नेपाल आउन रोकेका विषयमा समेत ध्यानाकर्षण गराएका थिए । काँकरभिट्टा नाकाबाट पर्यटक नेपाल आउन छाडेपछि व्यापार–व्यवसाय खस्किदै गएको छ ।

परराष्ट्र मन्त्री साउद भारतमा बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली गएका छन् । काँकरभिट्टा नाका र प्लाइउडका विषयमा भारतसँग प्राथमिकतामा राखेर छलफल गरिने मन्त्री साउदले बताए ।

मेची उद्याग बाणिज्य संघका अध्यक्ष प्रसाईले भारतका विभिन्न प्रान्तमा नेपाली प्लाइउडको माग अत्याधिक रहेको जानकारी दिए । भारतले आइएसआइ लागु गरे प्लाइउडको भारत निर्यात बन्द हुने नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय सदस्य समेत रहेका प्रसाईको भनाई छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई लगायतले भारतसँग यस विषयमा कुरा गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर निकास दिने आश्वासन पाएको प्रसाईले बताए ।