२५ वैशाख २०८१, मङ्गलवार

मोटरसाइकल चोरी गरेर ताप्लेजुङ पुर्याउँदै बिक्री गर्ने पक्राउ

११ फागुन २०८०, शुक्रवार
Image

चन्द्रगढी, ११ फागुन । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी ताप्लेजुङ लगेर विक्री गर्ने एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

जिप्रकाले आज पत्रकार सम्मेलन गरी विर्तामोड ६ बस्ने २७ बर्षीय बालकुमार मगरलाई बरामद गरिएका सात वटा मोटरसाइकलसहित सार्वजनिक गरेको हो । 

गत शुक्रवार एक थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा विक्री गरिहरेको सूचना पाएको थियो ।

प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको छ । 

जिप्रका प्रहरी निरीक्षक मिलन केसीले झापामा मोटरसाइकल चोरी गर्नेहरुले कावेलीसम्म पुराईदिने गरेको र त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको अनुसन्धानमा फेला परेको जानकारी दिनुभयो । केसीले झापामा जिम्मेवारी सम्हाल्नु भएको आज चार दिन मात्र भएको छ ।

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले रु.२० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु रु. ८० हजार देखि एक लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट मेटाएर पहाडी जिल्लामा पुर्याएर बिक्री गर्न गिरोह सक्रिय रहेको उनको भनाई छ। फेला परेको मोटरसाइकलहरू प्र–१–०३–००५प ८०४३ नम्बरको २२० सिसीको कालोपल्सर, प्र–१–०१–०१६ प १२६ नम्बरको २२० सिसीको कालो निलो पल्सर, प्र–१–०२–०४८ प ३२३७ नम्बरको २२० सिसीको रातो सेतो पल्सर, नम्बर प्लेट उल्लेख नभएको २२० सिसीको कालो रातो पल्सर, को ३९ प १८८४ नम्बरको १५० सिसीको कालो निलो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस र बा ७२ प १९९१ नम्बर भएको १५० सिसीको रहेको प्रहरीले जनाएको छ।