२५ वैशाख २०८१, मङ्गलवार

कोशीका नौ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप

१२ फागुन २०८०, शनिवार
Image

झापा, १२ फागुनका । कोशी प्रदेशका १४ जिल्लामा आठ लाख ९३ हजार ६२३ जनालाई दादुरा–रुवेला संक्रमणविरुद्धको खोप लगाइने स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । 

निर्देशनालयका प्रमुख ज्ञान बहादुर बस्नेतले नौ महिनादेखि १५ बर्षमुनिका बालबालिकालाई प्रदेशका आठ हजार ३६६ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिने बताउनुभयो । 

उहाँले पहिलो चरणमा यही फागुन १३ गतेदेखि प्रदेशका मोरङ, उदयपुर र तेह्रथुम जिल्लामा खोप अभियान सञ्चालन गर्ने र बाँकी रहेका ११ जिल्लामा चैत ७ गतेसम्ममा समापन हुने गरी सञ्चालन गरिने तयारी गरेको राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार झापा, मोरङ र सुनसरी जिल्लामा बढी जनघनत्व रहेका कारण संक्रमण बढी देखिएकाले नौ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । बाँकी रहेका ११ जिल्ला न्यून जोमिखमा रहेका कारण नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई मात्र खोप लगाइने उहाँको भनाई छ । 

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने उहाँले जानकारी दिनुभयो । सामुदायिक भवन, आधारभूत स्वास्थ्य केन्द्र, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो । 

उहाँले प्रदेशका १४ वटै जिल्लामा खोप पठाउने क्रम जारी रहेको बताउनुभयो । गत बर्ष मोरङ, सुनसरीमा देखिएको दादुराको संक्रमण यसबर्ष झापामा देखिएको थियो । झापामा सात जना दादुरा रोगबाट संक्रमित भएका थिए । 

झापामा दुई लाख ३० हजार बढीलाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले यही फागुन १७ गतेदेखि चैत ३ गतेसम्म एक हजार एक सय बढी खोप केन्द्रबाट बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने जानकारी दिनुभयो ।