२५ वैशाख २०८१, मङ्गलवार

विद्यालयमा उपभोक्ता सचेतना जरुरी : भण्डारी

१३ फागुन २०८०, आइतवार
Image

झापा, १३ फागुन । उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले विद्यालयहरुमा उपभोक्ता सचेतना अभियान सञ्चालन गरिनु पर्ने बताउनु भएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीसँगको छलफलमा अध्यक्ष भण्डारीले त्यस्तो आवश्यकता औंल्याउनु भयो ।

खाद्य पदार्थको म्याद गुज्रिएको छ कि छैन, पत्रु खाना किन खान हुँदैन, विषादीको अवशेष रहेको तरकारी खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ, सूर्तीजन्य पदार्थको सेवनलाई किन निरुत्साहित गर्नुपर्छ आदि विषयमा विद्यार्थीलाई सचेत बनाउन सक्दा विद्यार्थीको माध्यमबाट परिवार र समाजमा जागरण फैलिने उहाँको धारणा छ ।

अभियानका केन्द्रीय अध्यक्ष भण्डारी, केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरे, झापा जिल्ला अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, जिल्ला सदस्य अर्जुन कार्की र मेचीनगर अध्यक्ष रचना घिमिरे, नगर कोषाध्यक्ष मिरा काफ्लेको टोलीले नगरप्रमुख बुढाथोकी र भन्सार प्रमुख रेग्मीलाई उहाँहरुकै कार्यकक्षमा छुट्टाछुट्टै भेटघाट गरेको थियो ।

नगरप्रमुख बुढाथोकीले अभियानप्रति नगरपालिका सकारात्मक रहेको जनाउ दिदै मेचीनगरका विद्यालयहरुमा कसरी यो अभियानलाई लैजान सकिन्छ भनेर निकट भविष्यमै अनुगमन समितिकी प्रमुख समेत रहनु भएकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्षसहितको बैठक बसेर कार्यक्रम निर्धारण गरिने बताउनुभयो ।

यसैगरी मेची भन्सार कार्यालयका प्रमुख रेग्मीले भारतबाट सामान ल्याउँदा मूलभन्सार र क्वारेन्टाइन प्रक्रिया पूरा गरियो भने उपभोक्ताले विषादीरहित र गुणस्तरीय मालबस्तु प्राप्त गर्न सक्ने बताउनु भयो ।

उहाँले सामान किन्न पानीटंकी बजार जाने प्रवृत्तिले स्थानीय काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली र विर्तामोड जस्ता स्वदेशी बजार सुनसान हुने गरेको बताउनुभयो । स्थानीय बजारमा सामान किन्ने बानी बसाउन सकियो भने राज्यको राज्स्व पनि वृद्धि हुने र सामानको गुणस्तरमा नठगिने उहाँको धारणा थियो ।

आम उपभोक्ताहरुको हक र हितका लागि पैरवी गर्दै आएको अभियानले हालै भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लाका विभिन्न विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिसकेको छ ।