९ मंसिर २०८१, आइतवार

होटल र सैलुन सञ्चालन गर्दै लैंगिक अल्पसंख्यकहरु

१४ फागुन २०८०, सोमवार
Image

झापा, १४ फागुन । आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् । 

कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उनीहरुले होटल, फास्फुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याइरहेको लिड नेपालकी संयोजक लुना लिम्बु (चञ्चला)ले बताउनुभयो । 

झापाको दमकमा नमुना यूनिसेक्स सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालन भइरहेको छ । “सैलुनबाट १८ जना लैंगिक अल्पसंख्यक साथीले तालिम लिइसक्नु भएको छ,” उहाँले भन्नुभयो–“यो सैलुन समुदायका साथीहरुले सञ्चालन गर्नु भएको हो । तर, तालिम लिन समुदाय बाहिरका पनि आउनुहुन्छ ।” सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहेका छन् ।

मोरङको विराटनगरमा मिलीजुली एन्ड सप्तरंगी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा उनीहरुले पसल लगायतका स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् ।

झापामा पहिचान लुकाएका समेत गरी २२ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको लिड नेपालको दावी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको लिम्बुले बताउनुभयो ।

समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेको कारण समुदायका अधिकांश व्यक्तिहरु पहिचान लुकाएर बस्नु पर्ने अवस्था रहेको छ । उनीहरुलाई रोजगारीको अवसर नदिइने भएको हँुदा आफै व्यवसाय स्थापनामा लाग्नु परेको उहाँको भनाई छ । 

लिड नेपालले स्थानीय पालिका र दातृ संस्थाहरुसँग मिलेर उनीहरुलाई व्यावसायिक शिप सिकाउने अभियान चलाएको छ । दमक–५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग पुर्याएको छ ।

“सैलुनको शाखा जिल्लाका विभिन्न सहर बजारमा विस्तार गर्ने योजना छ”, लिड नेपालकी संयोजक लिम्बुले भन्नुभयो, “पहिला दक्ष जनशक्ति उत्पादन गर्छाैं र शाखा विस्तार गरी सबै पालिकामा रहेको हाम्रो समुदायलाई रोजगारीमा पहुँच पुर्याउँछौं ।” उहाँले सैलुनमा लैंगिक अल्पसंख्यक समुदायले नै रोजगारी पाइरहेको बताउनुभयो ।

स्थानीय पालिका र प्रदेश सरकारको सहयोगमा कोशी प्रदेशका विभिन्न जिल्लामा होटल, रेस्टुरेन्ट, कफि सप, बेकरी लगायतका व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको लिड नेपालले जनाएको छ । समाजमा अझै पनि लैंगिक अल्पसंख्यकहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित रहेको उहाँको भनाई छ ।